उपसभापतिमा रानाको जितः कांग्रेस ‘पावरसेन्टर’मा चाैधरी



नवलपुर – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नवलपुर जिल्ला अधिवेशनमा भएको मतदानबाट रोचक परिणाम आएको छ ।

सभापतिमा एकल उम्मेदवारी परेपछि महेन्द्रध्वज जिसि निर्विरोध निर्वाचित भएपनि अन्य पदहरुमा भने निर्वाचन भएको थियो ।

सभापतिमा निर्विरोध भएपछि सर्वाधिक चासोको साथ हेरिएको उपसभापतिमा आएको परिणामले जिल्लाको शक्तिसन्तुलनमै परिवर्तन आएको पाइएको हो । गुटगत राजनीतिभन्दा माथी उठेर कार्यकर्ताहरुले मतदान गरेपछि पार्टीका केन्द्रीय सदस्य विनोद चौधरी निकट चन्द्रबहादुर राना लोकप्रिय मतसहित उपसभापति पदमा विजयी भएका छन् ।

रानाको जितबाट नवलपुर कांग्रेसको परम्परागत गुट भन्दा केन्द्रीय सदस्य चौधरी जिल्ला पार्टीको ‘पावरसेन्टर’को रुपमा उदाएको देखिन्छ ।

स्रोतका अनुसार अन्य पदाधिकारीमा पनि सर्वसम्मत गर्ने प्रयास भएपनि रानाकै नाममा आएर कुरा अड्किएको थियो । त्यसपछि सभापतिमा सर्वसम्मत भएपनि अन्य पदहरुका लागि मतदान भएको थियो । मतदानबाट केन्द्रीय सदस्य चौधरीको तर्फबाट उम्मेदवार बनेका राना विजय भएका हुन् । रानासँगै निवर्तमान सचिव बालकृष्ण घिमिरे पनि उपसभापतिमा विजय भएका छन् ।

नेपाली कांग्रेसका उदयीमान नेताको रुपमा चिनिने केन्द्रीय सदस्य चौधरीले जिल्ला राजनीतिमा पनि राम्रो पकड कायम गरेको घोषित निर्वाचत परिणामवाट देखिएको स्थानीय कांग्रेस कार्यकताको विश्लेषण रहेको छ ।

नवलपुरलाई नै आफ्नो कर्मभुमि मान्दै उद्योग, व्यवसाय, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत सामाजिक विकासमा केन्द्रीत रहेका चौधरी पछिल्लो समय राजनीतिक रुपमा पनि सक्रिय रहदै आएका छन् ।

नवलपुरमा उनको सक्रिय राजनीतिक यात्राको स्वीकार्यता महाधिवेशन प्रतिनिधिमा भएको सर्वसम्मत चयनवाटै पुष्टि भएकोमा हालै सम्पन्न जिल्ला अधिवेशनवाट पनि उनी निकट उम्मेदवार विजय भएपछि जिल्लामा उनको लोकप्रियताको ग्राफ माथि पुगेको स्थानीय राजनीतिज्ञहरुको बताउँछन् ।