गण्डकी प्रदेश मुख्यमन्त्रीमा कांग्रेसका पोखरेल नियुक्त, को हुन् त पोखरेल ?



पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

नेपालीको नियुक्तिसँगै देशभरका सातै प्रदेशमध्ये नेपाली कांग्रेसले गण्डकीमा मात्र मुख्यमन्त्री पाउने अवसर जुटेको छ ।

संक्षिप्तमा पोखरेलः

तनहुँको तनहुँसुरमा ७१ वर्ष अघि जन्मिएका पोखरेल परिवारका माईला सन्तान कृष्णचन्द्रले आफ्नो नामको पछाडी ‘नेपाली’ लेख्दै आएका छन् । राजनैतिक परिवारकै व्यक्ति पोखरेल तनहुँबाट नवलपरासी सरेपछि राजनीतिलाई अझै अगाडि बढाए । फलस्वरुप नेपाली कांग्रेसको जिल्ला सभापतिको रुपमा १९ वर्ष पार्टी संरचनालाई मजबुद बनाए । उनकै नेतृत्वको उपज, नवलपुर सम्भवतः कांग्रेसका लागि देशकै बलियो खम्बा बनाउन सफल भएका छन् ।

२०४८ को संसदीय निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा पराजित भएका पोखरेल प्रदेशसभा २०७४ को निर्वाचनमा भने जित हात पारेका थिए ।

विगत चार दशकदेखि सक्रिय राजनीतिमा लागेका नेपालीले प्रजातन्त्रको पुनर्स्थापना गर्ने आन्दोलनको क्रममा पटक–पटक गरी तिन वर्षभन्दा बढी जेल जीवन बिताएका छन् । पिता स्व. गोवर्द्धन शर्माका साथ २०२२ देखि २०२८ सालसम्म भारतमा निर्वासित जीवन बिताएका नेपालीले राजनीतिक जीवन सँगसँगै लामो समय काभ्रे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कुलहरूमा राजनीतिशास्त्र, भुगोल, इतिहास विषय समेत पढाएका थिए ।

यही दौरानमा २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलको प्रचारमा सक्रिय भई नेपाली काँग्रेसलाई विजयी गराएको आरोपमा मन्त्री परिषद्को निर्णयले नेपालीलाई जुम्ला सरुवा गर्ने निर्यय गर्‍यो। यसका साथसाथै २०३६ साल ताका पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर उनले शैक्षिक क्षेत्र छोडे र अधिवक्ताको रूपमा जनपक्षीय कानुनी सेवामा समर्पित भए । राजनीतिक कारणले आफैँ शारीरिक यातनाबाट गुज्रिएका नेपालीको सिङ्गो प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरू तनहुँ र नवलपरासीबाट छुटेका थिए।