नवलपुर कांग्रेसका ‘सारथी’ पोखरेल बन्दै गण्डकीका मुख्यमन्त्री !



नवलपुर – मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भए पछि नयाँ सरकार गठनको लागि आह्वान गरिएको दाबीमा नेपाली कांग्रेसले आफ्नो दाबेदारी प्रस्तुत गरेको छ । माओवादी केन्द्रका, जनमोर्चा र जसपाका साथै स्वतन्त्र सांसद दिपक मनाङेलाई साथमा लिएर सरकार गठनको दाबी प्रस्तुत गरेको कांग्रेसले संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ ।

एक रातको राजनीतिले कुनै ‘चमत्कार’ नगरेमा पूर्वी नवलपुरबाट प्रदेशसभामा प्रतिनिधित्व गर्दै संसदीय दलका नेताका रुपमा रहेका सादगी नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने निश्चित भएको छ । ‘रात रहे अग्राख पलाउँछ’ भन्ने उखानलाई गण्डकीमा चरितार्थ नभए गण्डकी प्रदेशको मुख्यमन्त्रीको कुर्सीमा कृष्णचन्द्र नेपालीले आसन जमाउनेछन् ।

तनहुँको तनहुँसुरमा ७१ वर्ष अघि जन्मिएका पोखरेल परिवारका माईला सन्तान कृष्णचन्द्रले आफ्नो नामको पछाडी ‘नेपाली’ लेख्दै आएका छन् । राजनैतिक परिवारकै व्यक्ति पोखरेल तनहुँबाट नवलपरासी सरेपछि राजनीतिलाई अझै अगाडि बढाए । फलस्वरुप नेपाली कांग्रेसको जिल्ला सभापतिको रुपमा १९ वर्ष पार्टी संरचनालाई मजबुद बनाए । उनकै नेतृत्वको उपज, नवलपुर सम्भवतः कांग्रेसका लागि देशकै बलियो खम्बा बनाउन सफल भएका छन् ।

२०४८ को संसदीय निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा पराजित भएका पोखरेल प्रदेशसभा २०७४ को निर्वाचनमा भने जित हात पारेका थिए ।

विगत चार दशकदेखि सक्रिय राजनीतिमा लागेका नेपालीले प्रजातन्त्रको पुनर्स्थापना गर्ने आन्दोलनको क्रममा पटक–पटक गरी तिन वर्षभन्दा बढी जेल जीवन बिताएका छन् । पिता स्व. गोवर्द्धन शर्माका साथ २०२२ देखि २०२८ सालसम्म भारतमा निर्वासित जीवन बिताएका नेपालीले राजनीतिक जीवन सँगसँगै लामो समय काभ्रे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कुलहरूमा राजनीतिशास्त्र, भुगोल, इतिहास विषय समेत पढाएका थिए ।

यही दौरानमा २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलको प्रचारमा सक्रिय भई नेपाली काँग्रेसलाई विजयी गराएको आरोपमा मन्त्री परिषद्को निर्णयले नेपालीलाई जुम्ला सरुवा गर्ने निर्यय गर्‍यो। यसका साथसाथै २०३६ साल ताका पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर उनले शैक्षिक क्षेत्र छोडे र अधिवक्ताको रूपमा जनपक्षीय कानुनी सेवामा समर्पित भए । राजनीतिक कारणले आफैँ शारीरिक यातनाबाट गुज्रिएका नेपालीको सिङ्गो प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरू तनहुँ र नवलपरासीबाट छुटेका थिए।

त्यसअघि बिहीबार प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरिएलगत्तै नेपालीले शुक्रबार ३१ सदस्यको हस्ताक्षरसहितको दाबी पौडेललाई बुझाएका थिए ।

गठबन्धनका तर्फबाट कांग्रेसका संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राष्ट्रिय जनमोर्चाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरी ३१ सदस्यको हस्ताक्षर प्रदेश प्रमुख पौडेलसमक्ष बुझाइएको छ ।

सुब्बाको मन्त्रीमण्डलमा रहेका बहाल मन्त्री मनाङेले सुब्बाको विश्वासको मत लिने प्रस्ताबमा असहमति जनाउँदै अनुपस्थित भए पछि सुब्बाको गण्डकीमा बलियो मानिएको बाम सरकार ढलेको थियो ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मागेको विश्वासको मतको विपक्षमा ३० मत परेको थियो । नेपाली कांग्रेसको १५, नेकपा माओवादी केन्द्रको ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादी पार्टीका २ जना गरी ३० सदस्यले विश्वासको मतको विपक्षमा मत दिएका थिए । तर बहुमत पुग्न ३१ मत आवश्यक थियो ।

बहालवाला मन्त्री रहेकै अवस्थामा मनाङेले विपक्षी गठबन्धनलाई साथ दिँदै आँफै रहेको सरकार गिराउनमा मुख्य भूमिका खेलेका थिए । गत वैशाख २६ गते पहिलोपटक सुब्बाको मन्त्रीमण्डलमा समाहित हुने अवसर पाएका मनाङेले त्यसको ११ दिनमा नै अर्कोपटक पुनः सपथ लिएका थिए ।  प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठन गर्नका लागि आह्वान गरेको समय शनिवार अपरान्ह ३ बजे सकिदैछ ।