

बालश्रम अन्त्यको आह्वानसहित आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

काठमाडाैं – आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ ।
यो वर्ष समग्र अन्तर्राष्ट्रिय समुदायलाई बालश्रम अन्त्य गर्न आह्वान गरीएको छ । कोरोना सङ्क्रमण जोखिम र महामारीले बालबालिकाको अधिकार, उनीहरुको सुरक्षा तथा विकासमा समेत जोखिम उत्पन्न भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले जनाएको छ । नेपालमा बालबालिकासम्बन्धी ऐन २०४८ ले १६ वर्षमुनिकालाई बालबालिका भनेर परिभाषित गरेको छ ।
उनीहरूलाई आयआर्जनका लागि श्रम गर्न अथवा कसैले श्रमिक बनाउन वर्जित छ । सन् २०२५ सम्ममा बालश्रमका सबै स्वरुपको अन्त्य गर्न निर्णायक कदम चाल्नुपर्नेमा आइएलओले जोड दिएको छ । कोभिड–१९ देखा पर्नु अगाडिसम्म विश्वभर झण्डै १० करोड बालबालिकालाई श्रमबाट मुक्त गरिएको पनि आइएलओले जनाएको छ ।