

लागूऔषधसहित बागलुङबाट चार जना पक्राउ

बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
फेनार्गन ९०५ एम्पुल, डाइजापाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुलसहित चार जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
सोमबार दिउँसो बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा पार्किङ गरिराखेको लु२ख ५३१६ नम्बरको बसबाट लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको बागलुङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पाल्पाको मदनपोखारा–७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, बडिगाड गाउँपालिका–२ का ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका–६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङ जिल्ला लमही नगरपालिका–६ का २५ वर्षीय रोशन चौधरी रहेका छन् ।
पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।