

डुम्रे–बेँसीसहर सडकखण्ड ठाउँठाउँमा अवरुद्ध
साँझसम्म वैकल्पिक उपाय अपनाएर भएपनि सञ्चालनमा ल्याइने प्रशासनको स्पष्टाेक्ति

लमजुङ । लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण शनिबार रातीदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो । बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएकाे थियो ।
लगातारको वर्षापछि ठाउँठाउँमा सडक भत्किने र पहिरो गएका कारण यातायात अवरूद्ध भएको हो ।
लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीका अनुसार बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।
नयाँ ट्रयाक खोलेर वैकल्पिक बाटो खोजी गरी आइतबार साँझसम्म अवरुद्ध सडक खुलाइने डुम्रे–बेँसीसहर–चामे सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अच्युत बिलास पन्तले बताए । उनले भने, ‘सडकको १ सय मिटर माथिबाट पहिरो खसेको छ तत्काल सडक खुलाउन सकिँदैन यसका लागि बैकल्पिक बाटो खोज्नुपर्छ ।’
त्यस्तै वर्षाद्पछि आइतबार बिहान आएको बाढीले तनहुँको भानु नगरपालिका–८,कुडुलेफाँट नजिक खोलामा राखिएको तीन वटा ह्युमपाइप बगाएपछि सो सडकखण्ड अवरूद्ध बनेको छ ।