

महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाको आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न कार्यक्रम रहेको छ । सोही नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९/८० को बजेट आउने छ ।
स्वतन्त्र उम्मेदवार बनेर राजनीतिक दलका उम्मेदवारलाई हराउँदै मेयर पद जितेका मेयर बालेनको नेतृत्वमा कस्तो नीति तथा कार्यक्रम र बजेट आउला भन्ने चासो छ ।
नगरसभामा मेयर साह अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम पास गराउन राजनीतिक दलबाट उम्मेदवार बनेर चुनिएका जनप्रतिनिधिहरुको साथ चाहिने छ ।
यसैबीच नीति तथा कार्यक्रमबारे छलफल गर्न आज बिहान काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक बसेको थियो ।
अघिल्ला बैठकहरु लाइभ गर्दै आएको महानगरपालिकाले आजको बैठक भने लाइभ गरेन । बैठक अनौपचारिक भएकाले लाइभ नगरिएको मेयर साहको सचिवालयले जनाएको छ ।