

आयोजना प्रभावितलाई आईपीओ बिक्री गर्दै रसुवागढी हाइड्रोपावर

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
लिमिटेडले १३ असारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको हो । कम्पनीले रु. १०० अंकित दरको ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्रका वासिन्दालाई निष्कासन गर्न लागेको हो ।
आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं. २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका–४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुमा उक्त आईपीओ निष्कासन गर्न लागेको कम्पनीले जानकारी गराएको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक स्थानीय वासिन्दाले २७ असारसम्म आवेदन दिन सक्नेछन् ।
उक्त मितिसम्म मागअनुसार आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गरिने कम्पनीले जानकारी दिएको छ । यो आईपीओ बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सन्राइज क्यापिटल रहेका छन् ।
उक्त आईपीओमा बिक्री प्रबन्धकसँगै सी आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैँक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरूबाट आवेदन दिन सकिनेछ ।