

कांग्रेस महाधिवेशनका लागि ८६ होटल बुक, सुन्धारा, ठमेल र गाैशालामा प्रतिनिधि राखिने

काठमाडौं । नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ ।
हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने उनले बताए । ‘चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङको तयारी गरेका छौँँ’, पाण्डेले भने । समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गर्न लागेको छ ।
‘अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा भोजनको व्यवस्था गरिएको छ’, संयोजक पाण्डेले भने । मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म भोजनको व्यवस्था गरिएको छ ।