

कालीगण्डकी पुलमा एकतर्फी यातायात सञ्चालन, एक महिनापछि बल्ल बजारसँग जोडियो बौंदीकाली

नवलपुर । गत असार ३ गते आएको बाढीबाट कालीगण्डकीले तनहुँतिरको भाग बगाएपछि सडक सञ्जालबाट विच्छेद भएको बौंदीकाली अन्ततः एक महिनाभन्दा बढी समयपछि पुनः सडकसञ्जालसँग जोडिएको छ ।
तनहुँ र नवलपुरको डेढगाउँ जोड्ने गरी कालीगण्डकीमा रहेको पक्की पुलको तनहुँतर्फको भाग भत्किएपछि अवरुद्ध रहेको यातायात एकतर्फी रुपमा बुधबारबाट सञ्चालनमा आएको छ ।
गाउँपालिका र स्थानीयको पहलबाट करिब १ महिनापछि हाललाई एकतर्फ रुपमा सञ्चालनमा ल्याउन सफल भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका र स्थानीयका साथै व्यवसायीहरुको संयुक्त पहलमा उक्त पुल सञ्चालनमा ल्याउनका लागि विगत ३ दिनदेखि काम भइरहेकोमा बुधबारदेखि एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याउन सफल भएको बौंदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए ।
‘सीमित स्रोत र साधनका बाबजुद गाउँपालिका र स्थानीयको सहयोगमा सञ्चालनमा ल्याउन सफल भएका छौं, तर साबधानीका साथ पुल प्रयोग गर्नुपर्ने देखिएको छ,’ प्रशासकीय अधिकृत सुवेदीले बताए ।