एमाले विवाद: ओली ‘आममाफी दिने’; नेपाल ‘अपमान सहेर नबस्ने’



नेकपा एमालेको एकतालाई लिएर नेताहरू विभाजित भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबैलाई आममाफी दिने बताएका छन्। 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा बोल्दै ओलीले भने, “आज पुष्पलाललाई सम्झिएर म भन्न चाहन्छु यस पार्टीको, यस आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टी इज ग्र्यान्टेड (आममाफी दिइयो)।”

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीले आफ्नै कारण ‘ठूलो क्षति बेहोरेको’ बताएका ओलीले सबैलाई फेरि एकजुट भएर काम गर्न आह्वान गरेका हुन्।

पुष्पलालकै सम्झनामा काठमाण्डूमा आयोजित एक बेग्लै कार्यक्रममा नेता माधवकुमार नेपालले भने अपमान सहेर नबस्ने बताएका छन्।

अदालतप्रति असन्तुष्टि

ओलीले आफ्नो सरकार ढाल्नका लागि ‘डेढ वर्षदेखि लगातार ठोस प्रयासहरू भएको’ र त्यसबाट नसकेपछि परमादेशको सहायता लिइएको आरोप लगाएका छन्।

ओलीले अदालतमाथि जनताको विश्वास बढेमा मात्र लोकतन्त्र बलियो हुने बताउँदै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश दिने सर्वोच्चको पछिल्लो निर्णयप्रति असन्तुष्टि पोखे।

‘संविधान जसले पनि पढ्न सक्ने’ बताउँदै ओलीले भने, “तर जे गरे पनि विश्वास गर्नै पर्छ, जे गरे पनि मान्नै पर्छ भन्ने सोचियो भने विश्वास रहन्छ कि रहँदैन भन्ने चिन्ता त्यो हो।”

२०५९ सालको फैसलाले राजनीतिमा अदालत नपस्ने नजिर रहेकामा ‘यहाँ पार्टी सञ्चालनका मामलामा समेत आदेश गर्न नपाउने, ह्विप गर्न नपाउने’ भन्दै असन्तुष्टि पोखेका छन्।

ओलीले सरकारमा नरहे पनि दुवै सदनदेखि धेरैतिर आफूहरू प्रमुख राजनीतिक शक्ति भएको बताए।

अपमान सहेर नबस्ने‘: नेपाल

बेग्लै कार्यक्रममा बोलेका एमाले नेता माधवकुमार नेपालले कोही आफ्नो बनेको घरबाट बाहिर निस्कन नचाहने बताए।

उनले थपे, “तर अपमान सहेर कोही पनि बस्दैन। गलत, सबै खालका कुकर्महरू हुँदा हुँदै त्यसलाई सहेर कोही पनि बस्न हुँदैन।”

एमालेका २२ सांसदले पार्टीको निर्देशन विपरीत विश्वासको मतको मतदानमा देउवालाई भोट दिएका थिए।

जसपछि एमालेले नेपालसहितका ती नेताहरूलाई विधान विपरीतका कार्यहरू गरेको भन्दै स्पष्टीकरण सोधेको थियो।

बिहीवार नै ओलीलाई बुझाएको स्पष्टीकरणमा नेपालले विश्वासको मत लिन नसक्दा ‘राजीनामा नदिई, पार्टी र दलको निर्णयबिना नै संविधानका विभिन्न प्रावधान अन्तर्गत आफै प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकता विपरीतका कुरा’ भएको जनाएका छन्।

नेता नेपालले संविधान र पार्टीको विधानमा टेकेर देउवालाई मत हालेको बताए।