

विश्वासको मत लिने तयारीमा गण्डकीका मुख्यमन्त्री गुरूङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (बिहीबार) विश्वासको मत लिने तयारी गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
मध्याह्न १२ बजेको लागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको जनाइएको हो।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएका गुरूङले ठूलो दलको नेताको हैसियतले पुनः वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए ।
संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।
कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् । तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने स्पष्ट धारणा दिइसकेकोले विपक्षीको पक्षमा ३० सांसद छन् ।