चिनी गायब प्रकरणः सशस्त्रका एक एसपी र २ डिएसपी तानिए हेडक्वार्टर
७०० बोरा चिनी बरामद गर्दा १०६ बोरामात्र भन्सारमा बुझाएका थिए
काठमाडौं । ११ नं. गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सन्तोष बस्नेत हेडक्वार्टर तानिएका छन् । उनलाई बुधबार सशस्त्रको हेडक्वार्टर हल्चोकमा झिकाइएको सशस्त्र प्रहरी मुख्याललये जनाएको छ ।
तस्करीमार्फत भित्रिएको ५९४ बोरा चिनी गायब बनाएको आरोपमा एसपी बस्नेतसँगै सुरक्षा बेस सन्तपुरका डीएसपी राजेन्द्रबहादुर बस्नेतलाई पनि हेडक्वार्टर तानिएको छ ।
यसअघि डीएसपी बस्नेतलाई मधेश प्रदेशस्थित सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीमा तानेर छानबिन गरिएको थियो भने एसपी बस्नेतलाई सचेत गराइएको थियो । तर छानबिनका क्रममा उनीहरूको गल्ती भेटिएपछि हेडक्वार्टर नै झिकाएर थप छानबिनको प्रक्रिया अघि बढाइएको हो ।
यसअघि यो प्रकरणमा तस्करीको चिनी लुकाएर भण्डारण गरेको सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख तथा डीएसपी अमर लामा नेतृत्वको टोली घटनास्थलमा गएर छापा मारेको थियो । सो क्रममा ५९४ बोरा चिनी गायब भएपछि डीएसपी लामालाई हेडक्वार्टर झिकाएर छानबिन गरिएको थियो ।
लामापछि अहिले थप एकजना एसपी र एकजना डीएसपी समेतलाई हेडक्वार्टर तानिएको हो । तीनैजनामाथि सशस्त्र प्रहरीको कानुन महाशाखाले छानबिन गरिरहेको छ ।
‘हेडक्वार्टर तानिएकाहरूमाथि छानबिन भइरहेको छ । दोषी देखिएको अवस्थामा उनीहरूको भूमिकाअनुसार विभागले कारबाही गर्छ,’ सशस्त्र मुख्यालयले भन्यो ।
