

असई सञ्जयले बहुप्रतिभाशाली रमिलालाई एक रुपैयाँमै बेहुली बनाएपछि…

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतमले उदाहरणीय विवाह सम्पन्न गरेका छन् ।
पर्वतको राम्जादेउरालीमा जन्मिएका गौतमको परिवार हाल पोखरामा बस्दै आएका छन् । घरका माइला छोरा सञ्जयले उदयपुर बेल्टारकी रमिला बस्नेतसँग लगनगाँठो कस्दै उदाहरणीय कार्य गरेका छन् ।
मंगलबार बिहान राजधानीको कोटेश्वर महादेवको मन्दिरलाई साक्षी राख्दै घरपरिवारका ७/८ जना सदस्यको उपस्थितिमा सञ्जयले रमिलालाई सिन्दुर हाल्दै जुगौं–जुग सँगै जिउने कसम खाएका छन् ।
विवाहमा नत बाजा थियो, न केही तामझाम, अनि न केही दाईजो नै ! बस थिए, सञ्जय–रमिला अनि केही आफन्तमात्र ।
उनले विवाहमा आफ्ना केही पारिवारिक सदस्यमात्र उपस्थित भएको जनाएका छन् ।
विवाहका लागि गौतमले सिन्दुर घरैबाट ल्याएको र पोते भाउजुको ल्याएको बताए भने माला मन्दिरमै भेटेको जनाए । विवाह गराउने पण्डितलाई दक्षिणास्वरुप नगद एक रुपैयाँ मात्रै दिएको दाबी गर्दै गौतमले विवाहकै लागि भएको खर्च एक रुपैयाँ मात्र भएको जनाए ।
अहिले यतिबेला भने नवविवाहित जोडी परम्पराअनुसार दुरान फर्काउनका लागि ससुराली अर्थात् रमिलाको माइत उदयपुर पुगेका छन् ।
उनले भने, ‘खास बिवाहका लागि भएको खर्च एक रुपैयाँ मात्र हो, अन्य कुराहरु भनेको फजुल खर्च नै हुन् ।’ उनले अब विवाहको नाममा कुनै पार्टी पनि आयोजना नगरिने जनाए ।
लामोसमय नेपाल प्रहरीको समाचार कक्षमा कार्यरत सञ्जय हाल काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।
सञ्जयकी बेहुली एवं रमिला राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतकी ह्यान्डबलकी प्रशिक्षक हुन् । १३ वर्षको उमेरमै नेपालका लागि अन्तर्राष्ट्रिय ह्यान्डबल खेलेकी रमिलाले चीनमा सम्पन्न एशियन गेम्समा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
ह्याण्डबल खेलमा रमिलाले १४ वर्षको उमेरमा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागी भएर नेपाललाई स्वर्ण, रजत तथा कास्य पदक दिलाउन सफल भएकी थिइन् ।
रमिलाले सन् २०१४ मा पाकिस्तानमा सम्पन्न ह्यान्डबल प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाएकी थिइन् ।
उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेकी राष्ट्रिय ह्यान्डबल खेलाडी रमिला बस्नेत वर्ष–०७४ को राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएकी थिइन् । त्यसबाहेक हालसम्म उनले विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाएकी छिन् ।
‘मिस प्रदेश नं. १’ ताज
बुवा राजेन्द्र बस्नेत र आमा ताराको कोखबाट २०५६ सालमा जन्मिएकी कान्छी छोरी रमिलाको अर्को परिचय समेत रहेको छ । मोडलिङको दुनियाँमा प्रवेश गरेको पहिलो पटक नै २०७५ सालमा ‘मिस प्रदेश नं. १’ को ताज समेत हात पारेकी थिइन् रमिलाले ।
सञ्जय र रमिलाले पछिल्ला दिनमा विवाहका नाममा फजुल खर्च नगरिकन पनि विवाह बन्धनमा बाँधिन सकिने रहेछ भन्ने कुराको उदाहरण दिन चाहेको बताएका छन् । दुवैजनालाई सफल दाम्पत्य जीवनको शुभकामना ! -कागजपत्र