विपद् पूर्वतयारी छलफल तथा अन्तक्रिया सम्पन्न



काठमाडाैं । विपद् पत्रकारिता सञ्जालले मंगलबार ‘विपद् पूर्वतयारी छलफल तथा अन्तक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ ।

मंगलबार जिल्ला समन्वय समिति काठमाडौंको कार्यालयमा विपद् न्यूनीकरणमा तीन तहका सरकारको भूमिकाका विषयमा छलफल आयोजना गरिएको हो ।

कार्यक्रममा सञ्जालकी अध्यक्ष अमिका राजथलाले नेपालमा प्राकृतिक विपद्का कारण ग्रामीण क्षेत्रमा गम्भीर असर पार्ने गरेको बताइन् । उनले मकवानपुरको राक्सिराङ गाउँपालिकामा जलवायु परिवर्तनका कारण चेपाङ समुदाय झनै समस्यामा परेको बताइन् ।

उनले भनिन्, ‘ चेपाङ समुदायका मानिसहरु बसेको स्थानमा सडक नभएकोले हिउँदको समयमा सुख्खा खोलाको बाटो हिँड्नुपरेको छ,’ उनले भनिन्, ‘चट्याङ पर्दा बच्नलाई कस्ता विधि अपनाउने ? भन्ने बारेमा त्यस क्षेत्रका स्थानीयलाई अझै थाहा छैन ।’

यस्तै जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ति पाण्डेले प्रत्येक पालिकाहरुसँग समन्वय गरेर जोखिम न्यूनीकरण गर्नेतर्फ सदैव अग्रसर रहेको बताइन् । ‘विपद् पत्रकारितालाई विशिष्टीकृत बनाउनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले पत्रकारहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन जरुरी छ’ उनले भनिन्

प्रहरी उपरीक्षक अपिलराज बोहराले गत साल अबिरल वर्षाका कारण काठमाडौंमा ४ अर्ब १४ करोड ६६ लाख ५ हजार रुपैयाँको क्षति भएको उल्लेख गरे । उनले वर्षाको समयमा कपन, टेकु, थापाथली लगायतका सुकुम्बासी क्षेत्रका नागरिक बढी प्रभावित हुने गरेको पनि बताए ।

कार्यक्रममा पूर्वचेतावनी प्रणाली, स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना, समावेशी बिपद जोखिम न्यूनीकरणबारेमा छलफल भएको थियो । विपद् अघि र पछिको लागि बलियो समाचार रणनीति बनाउन आवश्यक रहेको कार्यक्रममा वक्ताहरुले जोड दिएका थिए ।