

‘न्याय माग्दै’ बरिष्ठ सईहरु सर्वोच्चमा, सर्वोच्चले दियो कारण देखाउ आदेश

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) हरुले संगठनबाट पाउनुपर्ने ग्रेडको माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
संगठनमा कार्यरत रहेका बरिष्ठ सई विनयबहादुर चन्दसहित १४ जनाले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश र अग्राधिकार दिने आदेश जारी गरेको हो ।
मंगलबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाईमा उक्त आदेश जारी भएको हो ।
त्यसअघि सोमबार प्रहरीबाट राजीनामा दिएर र अवकाश पाएका पूर्व वरिष्ठ सईहरू दिएको रिटमा समेत सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो ।
अवकाश प्राप्त सुफतमान राई, राम करन गुप्ता, सुरेश कुमार राई र ओमप्रकाश शाक्य सहितका जुनियर अधिकृतहरूले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानले कारण देखाऊ आदेश जारी गरेका थिए ।
प्रहरी नायव निरीक्षकले हाल तलबमा ८ ग्रेड थप सेवा सुविधा पाउँछन् । तर, वरिष्ठ प्रनानीहरुले २ ग्रेड मात्र पाउने गरेको जनाउँदै उनीहरुले ग्रेड थपका लागि सर्वोच्च गुहारेको बताए । त्यसबाट आफूहरू पदमा सिनियर भए पनि सेवा सुविधामा जुनियर रहेको महसुस गर्दै सर्वोच्च पुगेको बताएका छन् ।
वरिष्ठ प्रनानीहरुले मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालयका सचिव, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी किताबखाना र निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई विपक्षी बनाएका छन् ।