गाउँ फर्कनेलाई उपाध्यक्ष रानाद्वारा स्वागत एवं सम्मान



पैयूँ । तीव्ररुपमा भइरहेको बसाइई सराई र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै जाँदा गाउँ गाउँजस्तो नरहने अवस्था छ भने शहर पनि वर्णशङ्कर हुँदै जान थालेको छ ।

चिल्ला ढुङ्गाले छाएर चिटिक्कै पारिएका छाना, साल, टुनी, चिलाउने जस्ता काठले बारेर चिटिक्कै पारिएका बार्दली । दुई तीन हल गोरु नारेर दाइँ हाल्न मिल्ने ठूलो आँगन । घरको नजिकै धन्सार सहितको गोठ ।

वरिपरि खेतबारीको हरियाली डाँडा पाखा पखेरा, हिमाल, पहाड हेर्दै रहरलाग्दो गाउँको यो सौन्दर्य अहिले बसाइँसराइँका कारण हराउँदै जान थालेको छ । गाउँमा घरहरु त छन् तर घरमा बस्ने मानिस छैनन् ।

बस्ती पातलिँदै जान थालेको छ । भीरपहरा र खोलाहरु छिचोल्दै गाउँमै सडक पुगेको छ । सुविधा थपिएका छन् । विद्यालय, स्वास्थ्यचौकीदेखि लिएर खानेपानी र सिँचाइको राम्रो सुविधा बढ्दै गहिरहेको पनि छ तर सुविधाको खोजीमा शहरबजार र तराईतिर जानेक्रम भने रोकिएको  छैन । एक दशकअघिसम्म बाक्लो बस्ती भएका गाउँ बढ्दो बसाइँसराइले पातलिँदै गएका छन् ।

अहिले अवस्था पूरै फेरिएको छ । कतिपय गाउँमा त केही समस्या आइहाले हारगुहार गर्दा सुन्ने र सहयोग गर्ने छिमेकीसमेत नपाइने अवस्था सिर्जना हुन गएको छ । गाउँघरमा कसैको घरमा कुनै घटना भयो भने पनि थाहा पाउने र आडभरोसा दिने मानिस समेत नहुने अवस्था रहन गएको छ ।

यस्तै बसाई सराई रोक्न र आफ्नै ठाँउमा सेवा सुबिधा पुर्याउनको लागि स्थानीय सरकारले हरदम प्रयास गरिएको छ भने बसाई सराई गरेर जानेहरुलाई आफ्नै गाउँ फर्कने अभियान समेत चलाउन थालेका छन् ।

यस्तै बसाई सराईको लहर र सहर बजार, तराईको सुबिधा देखेर पर्वतको पैँयु गाउँपालिका वडा नम्बर ७ भोर्ले निवासी मीना कुमारी सापकोटा ९ महिना अघि बसाई सरि नवलपुर जिल्लाको कावासोती गएकी थिईन् तर त्यो ९ महिनाको अवधिमा त्यहाँको अव्यवस्थित बसोबास, भिडभाड, महङ्गी, तराईको गर्मी, लामखुट्टे, सामाजिक सद्भाब र आत्मीयताको अभाव साथै अन्य विविध समस्या रहने हुँदा आफुलाई तराई बस्न मन नपरेको बताउँदै पुनः आफ्नै गाउँ भोर्लेमै फर्केकी छिन् ।

आफ्नै गाउँ फर्केर गाउँको शोभा बढाईदिएको भन्दै पैँयु गाउँपालिका उपाध्यक्ष यामकुमारी राना र वडा अध्यक्ष तोयानाथ शर्माले उनलाई स्वागतसहित सम्मान गरेका छन् । वडाले नगद पुरस्कार समेत गर्ने बताएको छ ।

अझै अरु पनि गाउँमै बसाई सरि फर्कने सबैलाई सम्मान र पुरस्कृत समेत गर्ने बताईएको छ। गाउँगाउँबाट बसाई सरि जाने क्रम रोक्न पालिकाले सक्दो प्रयास गर्ने र बजार र तराईको सुबिधा गाउँमै दिने व्यवस्था मिलाउन कुनै कसर बाकी नराख्ने उपाध्यक्ष रानाले बताएकी छन् ।