

पैयूँमा डिजिटल एक्सरे मेसिन, स्वास्थ्यसेवामा राहत पुग्ने विश्वास

पवर्त । पर्वतको पैयूँ गाउँपालिका ४ मा रहेको हुवास स्वास्थ्य चौकीमा डिजिटल एक्सरे मेसिन हस्तान्तरण गरिएको छ । मंगलबार नेकपा एमाले पर्वत काठमाडौं सम्पर्क मञ्चका प्रतिनिधीले सो सामाग्री स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले सो डिजिटल एक्सरे मेसिन पठाएका हुन् । पैयूँ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको उपस्थितिमा सो मेशिन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो । सो मेसिन हस्तान्तरण भएसँगै पैयूँको स्वास्थ्य सेवामा राहत पुग्ने विश्वास स्थानीयले गरेका छन् ।
पैयूँ गाउँपालिकामा स्वास्थ्यको दुरावस्थालाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी गृह जिल्ला पर्वतको भ्रमणमा रहदा पैयूँ गाउँपालिकाकी उपाध्यक्ष यामकुमारी रानाको नेतृत्वको जनप्रतिनिधीको समूहले मन्त्री समक्ष ज्ञापन पत्र बुझाएको थियो ।
मन्त्री गिरीले सो अवसरमा आफु पैयूँको स्वास्थ्य अवस्थाबारे जानकार भएको भन्दै उपचारका लागि पैयूँबासी अन्त जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए । आफुले सो क्षेत्रको स्वास्थ्य क्षेत्रको आधुनिकीकरणमा पहल गर्ने प्रतिवद्वता गरेका गिरीले प्रथम पटक सो मेसिन उक्त स्वास्थ्य चौकीलाई पठाएका हुन् ।
… यो पनि… स्वास्थ्य मन्त्री गिरीसमक्ष पैयूँ गाउँपालिकाले बुझायो ज्ञापनपत्र
दुई वर्ष अगाडि रोटरी क्लव अफ जावलाखेलले सोहि स्वास्थ्य चौकीलाई इसीजी तथा अन्ट्रासाउण्ड मेशिन हस्तान्तरण गरेको थियो । गाउँपालिकाले मन्त्री गिरीलाई बुझाएको ज्ञापनपत्रमा अपरेशन थ्रियटर सहितको ५० शैयाको अस्पताल, पोस्टमार्टम सेन्टरको स्थापना, २४ सै घण्टा आकस्मिक सेवा प्रदान गर्ने सकिने तथा दन्त, आँखा, टीबी रोग परीक्षण सेवा, डिजिटल एक्सरे तथा प्लास्टर सेवा, २४ अै घण्टा एक्सरे सेवा, गर्भवती तथा सुत्केरीका लागि पोषिलो आहार वितरण सेवा, वडा न ७ भोर्ले र ३ बेउलीवासमा वडा स्वास्थ्य चौकी भवन, महिला स्वास्थ्य स्वयंसेविकाका लागि सेवामा खटिदाको भत्तामा वृद्वि लगायतका मागहरु ज्ञापनपत्रमा उल्लेखित छन् ।
ज्ञापनपत्र बुझ्दै मन्त्री गिरीले पैयूँको स्वास्थ्य अवस्थाबारेमा आफुलाई जानकारी भएको भन्दै उपचारकै लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका थिए । पैयूँमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था गर्ने मन्त्री गिरीले सो अवसरमा प्रतिवद्वता व्यक्त गरेको गाउँपालिकाकी उपाध्यक्ष यामकुमारी रानाले बताईन् ।