

थप उपचारका लागि कांग्रेस नेता भण्डारीलाई भारत लगियो

काठमाडाैं । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।
उनलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा थप उपचारका लागि लगिएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि चिकित्सकको टोलीसहित त्यसतर्फ लगिएको हो ।
बुधबार राति घाइते भएका नेता डा भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देश बाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गरेको हो ।
आफ्नो निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले घाइते भण्डारीकाे स्वास्थ्य लाभकाे कामना गरेका छन् भने मृतक हरिकलाकाे आत्मकाे चिर शान्तिकाे कामना गरेका छन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।