धरहरामा निलो बत्ति बालेर मनाइयो अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस

काठमाडौं । राष्ट्रिय बहिरा महासंघको मूल आयोजना तथा अन्य विभिन्न संघसंस्थाको समन्वय तथा सहयोगमा २३ सेप्टेम्बर शुक्रबार काठमाडौंको धरहरामा निलो बत्ति बालेर सांकेतिक भाषाहरुको अन्तराष्ट्रिय दिवस मनाईएको छ ।

कार्यक्रममा करिव डेढ सयको संख्यामा बहिरा तथा सुनुवाई सम्बन्धि अपाङ्गता भएका नागरिक र अपांगता अधिकारको आन्दोलनमा क्रियाशिल व्यक्तिहरुको सहभागिता रहेको थियो । सांकेतिक भाषाहरुले हामीलाई एकतावद्व गर्दछन् भन्ने भन्ने मूल नाराका साथ नेपाल लगायत विश्वभरका २०० भन्दा बढि देशमा विभिन्न कार्यक्रमका साथ २३ सेप्टेम्बर शुक्रवारका दिन सो दिवस मनाइएको हो ।

कार्यक्रममा भाषा आयोगकी कार्यवाहक अध्यक्ष डा उषा हमाल, हेण्डिकेप इन्टरनेशनलकी कन्ट्री डाइरेक्टर, राष्ट्रिय अपाङ्ग महासंघका महासचिव राजु बस्नेत, उपाध्यक्ष रमा ढकाल, अपांगता भएका महिलाहरुको महासंघकी अध्यक्ष निर्मला धिताल,आइडिएकी विष्णु सापकोटालगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेकी भाषा आयोगकी कार्यबाहक अध्यक्ष डा उषा हमालले सांकेतिक भाषाको विकास तथा विस्तारका सन्दर्भममा भाषा आयोग गम्भीर रहेको बताईन । बहिरा नागरिकको प्रमुख संचारको माध्यममा रहेको सांकेतिक भाषाको प्रर्वद्वनमा आयोगकातर्फवाट आवश्यक सहयोगका लागि आफुहरु तयार रहेको हमालले बताईन ।

सञ्चारमा पहुँच नै बहिरा समुदायको पहिलो सवाल भएको भन्दै बहिरा नागरिकहरुको पहिलो भाषा सांकेतिक भाषाको पर्याप्त विकास हुन नसकेको राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले बताए ।

अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि समितिको समेत प्राथमिकतमा परेको नेपाली सांकेतिक भाषा अनुसन्धान तथा विकास केन्द्रको स्थापना एवं सांकेतिक भाषाको विकास अझै अलपत्र परेको ठहर महासंघको रहेको अधिकारीले बताए ।

बहिरामैत्री पाठ्यक्रम, पाठ्यपूस्तक, शिक्षण तथा मूल्यांकन पद्वतिको विकास हुन नसकेको, अधिकार भएरपनि बहिरा सञ्जाल, सांकेतिक भाषा, दोभाषे सेवा विकास र बहिरा संस्कृतिको विकासतर्फ राज्यको ध्यान पुग्न नसकेको महासंघका अध्यक्ष अधिकारीले सो अवसरमा बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *