‘भर्ती’को पहिलो दिन कमरेड सर्वेन्द्र !



‘इन्स्पेक्टर हुँदादेखि नै म उहाँप्रति लालायित हुन्थें’, यो भनाई हो, बिहीबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट अबिर र खादा लगाएर एमालेको क्याडट बनेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ।

३० वर्षसम्म मुलुकको सेवा गरेर जीवनको उत्तरार्द्धमा राजनीतिमा छिर्ने बानी परेका नेपालका सुरक्षा निकायका सेवानिवृत्तहरुको लहरमा उनी पनि दरिए । आफू आईजी बन्दा असन्तुष्ट बनेका रमेश खरेल भन्दा सर्वेन्द्र राजनीतिमा ‘जुनियर’ रहे । खरेल आईजी बन्न नसकेपछि राजीनामा दिएर राजनीतिमा लागे तर खनाल आईजीको कार्यकाल सकाइसकेपछि राजनीतिमा लागे । फरक त्यति हो एकजना जागिर छाडेर राजनीतिमा लागे अर्का जागिर पकाएर राजनीतिमा लागे ।

बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सर्वेन्द्रले एमाले अध्यक्ष ओलीको गुणगान राम्रैसँग गाए । जहाँ उनले आफू इन्स्पेक्टर हुँदादेखि नै ओलीप्रति लालायित भएको बताए । जो राष्ट्रसेवक प्रहरी जागिरको सुरुवात देखि नै एउटा नेताप्रति लालायित भएर जागिर खान्छ भने उसले जीवनकाल भरि सो नेताप्रति कति अनुग्रहित बन्यो होला ? त्यसको लेखाजोखा गर्ने बेला अहिले होइन होला पक्कै पनि । तर, सर्वेन्द्रको अभिव्यक्तिले उनी ओलीप्रति संगठनप्रवेशदेखि संगठनको नेतृत्वसम्ममै प्रभावित, लालायित मात्रै होइन ‘अन्धभक्त’ नै पनि भएको हो कि जस्तो देखिन्छ । करिब ३५ मिनेट बढीको सम्बोधन ओली गुणगान गाउनमै खर्चिएका सर्वेन्द्रले ओलीलाई प्रणेताकै रूपमा व्याख्या गर्दै एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर भएको बताएका थिए ।

एउटा प्रहरी जसले आफ्नो जीवनकालमा कुनै राजनीतिक नेताप्रति ‘लालायित’ भएर जागिरमा पेन्सन पकाउँछ भने उसले त्यो नेताप्रति कति काम गर्यो वा राष्ट्रप्रति कति काम गर्यो, त्यो विषय सर्वेन्द्रमा लागू हुन्छ वा हुँदैन ? त्यसबारे कसले उत्तर देला ? नेपाल प्रहरीमा रहँदा सर्वेन्द्र उत्कृष्ट मात्र होइन, ‘अति उत्कृष्ट’ र ‘सफल अधिकृत’का रुपमा चिनिन्थे । तर, अब उनी गाली खाने ठाउँमा आएका छन् । गाली र आलोचनाले भरिएको राजनीतिक क्षेत्र सर्वेन्द्रले ती सबै पचाउनका लागि कति सक्छन् त्यो त हेर्न बाँकी नै छ । त्यो भन्दा बढी महत्वपूर्ण कुरा जनतामा उनी कसरी प्रस्तुत हुन्छन् त्यो ठूलो कुरा होला ।

एउटा प्रहरी जसले आफ्नो जागिरे जीवनकालमा कुनै राजनीतिक नेताप्रति ‘लालायित’ भएर जागिरमा पेन्सन पकाउँछ भने उसले त्यो नेताप्रति कति काम गर्यो वा राष्ट्रप्रति कति काम गर्यो, त्यो विषय सर्वेन्द्रमा लागू हुन्छ वा हुँदैन ? त्यसबारे कसले उत्तर देला ?

उनले पार्टी प्रवेशको पहिलो दिन नै उनको विगत शंका गर्ने ठाउँ दिएका छन् । सेवाकालमै रहेका बेला संगठनभित्र आफूलाई संगठन प्रमुखले गरेको अन्यायविरुद्ध पार्टी कार्यालयमै गएर ओलीसँग न्याय माग्ने बानी परेका सर्वेन्द्र जागिरपछि ‘ओलीभक्त’ हुनु कुनै अनौठो होइन, त्यो नैसर्गिक अधिकार पनि हो । सोही अधिकारको प्रयोग गर्दै खनालले ओलीको गुणगान गाएका होलान् वा वास्तविकता पनि त्यही होला ।

संगठनको नेतृत्व गरेर सेवानिवृत्त भएका सर्वेन्द्र राजनीतिमा लोभिए । चाहे त्यो उनी ओलीप्रति लालायित भएर होला वा अन्य राजनीतिक नेतृत्वसँगको बसउठ वा आफ्नो अन्तरआत्माको निर्णय वा लोभ होला । अरु जे भए पनि उनी अलि–अलि चाहिँ लोभिएकै हुन्, अन्यथा चुनावको मुखैमा आएर पार्टी प्रवेश गर्ने थिएनन् होला ।

३० वर्षसम्मको भोकले उनलाई प्रहरी संगठनको नेतृत्वमा पुर्यायो, जुन हरेक व्यक्तिको जीवनको सबैभन्दा ठूलो सपना एवं चाहना हो, त्यसमा सफल भएका थिए सर्वेन्द्र । तर, अहिले तिनै सर्वेन्द्रमा देखिएको राजनीतिको भोक के हो त्यो अहिले नै खुलिसकेको छैन । तर, चुनावको पूर्वसन्ध्यामै पार्टी प्रवेश गरेकाले निकट भविष्यमै खुल्ने आशा गर्न सकिन्छ । राजनीतिक दलको क्याडेटका रुपमा पार्टी प्रवेश गरिरहँदा आगामी चुनावमा उनी जनतामाझ जान्छन् वा जाँदैनन् त्यो हेर्न बाँकी नै छ ।

चुनावको मुखमै पार्टी प्रवेश गरेकाले उनले ‘टिकट’ ‘पक्का’ गरेरै महासचिव शंकर पोखरेलबाट अविर अनि अध्यक्ष ओलीबाट खादा लगाएका होलान्, अनि आफ्नो ३० वर्षअघिदेखिको ‘लालायती’ सार्वजनिक गरेका होलान् । न्याय माग्न पार्टी कार्यालय पुगेको कुरा सार्वजनिक गरेका होलान् ।

जागिरे जीवनकालमा उनको नाम लिँदा सुरक्षित महसुस गर्ने जनताले जागिर पर्यन्त भने ‘डरलाग्दो’ काण्डमा मुछिएको सुने ।  जुन ‘कार्य’ गर्नेहरूविरूद्ध ३०औं वर्षको जागिरे जीवन बिताए, पटक-पटक तिनैविरूद्धको अपरेशनबाट प्रमोशनको पुरस्कार पाए, जागिरे जीवनपछि भने त्यही ‘कार्य’ गरेको आरोप उनलाई लाग्यो । भलै त्यो ‘वास्तविकता’ हो वा ‘हल्ला’ हो त्यो ‘आरोप’ लगाउनेहरु वा ‘आरोपित’हरु नै जानुन् ।

सरसर्ती हेर्दा उनले गृहजिल्ला तनहुँबाट राजनीति गर्ने देखिन्छ । जुन, उनी प्रवेश गरेको भन्दा फरक राजनीतिक दल अर्थात् कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको पनि जिल्ला हो । यसपटकको निर्वाचनमा पौडेल समानुपातिकमा नबस्नु खनालका लागि खतरा पनि हुनसक्दछ । हुनत, खनालले तनहुँबाटै राजनीति गर्छन् भन्ने पनि छैन, किनकी उनी जागिरपर्यन्त खासै तनहुँमा गएर स्थानीयहरुसँग भिज्ने काम वा प्रयाससम्म पनि कहिल्यै गरेनन् । कुनै एउटा क्षेत्रमा विशिष्टता हासिल गरिसकेका व्यक्तिले टिकट पाउनुमात्र ठूलो कुरा होइन, टिकट पाएर जित्नु ठूलो कुरा होला, शायद त्यो कुरा खनालले बुझेका होलान् ।

सेवाकालमै रहेका बेला संगठनभित्र आफूलाई संगठन प्रमुखले गरेको अन्यायविरुद्ध पार्टी कार्यालयमै गएर ओलीसँग न्याय माग्ने बानी परेका सर्वेन्द्र जागिरपछि ‘ओलीभक्त’ हुनु कुनै अनौठो होइन, त्यो नैसर्गिक अधिकार पनि हो ।

तनहुँमा रामचन्द्र पौडेल आकांक्षी बनिरहँदा अर्का लोकप्रिय गोविन्दराज जोशीले स्वतन्त्रबाट उम्मेदवारी दिने तयारि गरिरहेका छन् । एकातिर रामचन्द्रको अलोकप्रियता अनि एमालेबाट ‘कच्चा’ सर्वेन्द्र उम्मेदवार बने गोविन्दराज जोशीले बाजी मार्नसक्छन्, जुन यसअघिको स्थानीय निर्वाचनमा ब्यास नगरपालिका मेयरमा उनै जोशीका छोरा दीपक जोशी २ सयमतान्तरले मात्र पराजित बनेका छन् । गत स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा तनहुँमा जोशीको दबदबा नहराएको स्पष्ट छ । त्यसमा सर्वेन्द्रले तनहुँबाट एमालेका तर्फबाट उम्मेदवारी दिएमा जोशीको सम्भावनाको घडीको सुई पक्कै अगाडि बढ्दै जानेछ ।

हुनत, औपचारिक रुपमा पार्टी प्रवेश गर्नुअघि नै नेकपा एमालेको समानुपातिकको लिस्टमा नाम परेको पनि हुनसक्छ । तर, त्यसमा खनालको सम्भावना ज्यादै न्यून हुन्छ, किनभने यसअघिको निर्वाचनमा एमालेले पाएका समानुपातिकमा अधिकांश सिट महिलालाई दिनुपरेको थियो । उनी त त्यसैमाथि पुरुष अनि ‘खस आर्य’ । अहिले पनि प्रत्यक्षतर्फ महिला एवं दलितहरुको प्रतिनिधित्वकै आधारमा समानुपातिकको निक्र्योल लाग्ने भएकाले समानुपातिक ‘पुरुष’ अनि ‘खस आर्य’का लागि त्यति सहज बाटो बन्न सक्दैन पक्कै पनि ।

सर्वेन्द्रले पार्टी प्रवेश कार्यक्रममा आफ्नो आगामी दिनको योजनाभन्दा पनि आफूले विगतदेखि नै ओलीलाई मार्गदर्शकका रुपमा लिइरहेको कुराको व्याख्या गर्न समय खर्चिए । उनले ओलीभन्दा बाहेक कोही पनि राष्ट्रवादी नेता देखेनन् । आफ्नो जागिरे जीवनमा ओलीले पारेको प्रभावका बारेमा फेहरिस्त लगाए, जुन कुराभन्दा बढी राजनीतिमा छिरिसकेपछि जनताका लागि गर्नुपर्ने कामका बारेमा वर्णन गर्न सक्नुपर्दथ्यो, त्यसमा शायद चुकेका हुन् कि खनाल । त्यसैले नेपाली जनतामाझ सबैभन्दा ठूलो चाड दशैं तिहार आउँदैछ्, त्यसपछि लगत्तै चुनाव आउँदैछ, त्यतिबेलासम्म पर्खनै पर्ने देखिएको छ । जे भए पनि एमालेका कान्छा ‘सेलिब्रेटी’ क्याडेटलाई शुभकामना ।