

रामचन्द्र पौडेलले मागे माफी, ‘मेरो अभिव्यक्तिलाई नै लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दमौलीवासीसँग माफी मागेका छन् । गत साता दमौलीमा आयोजित कार्यक्रममा पानीको समस्याबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपुर्ण हुन नसक्ने भन्दै उनले माफी मागेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मागी गर्दै नेता पौडेलले लेखेका छन् :
गत साता दमौली कार्यक्रममा मैले दमौलीमा मादी नदीको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना संचालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको थिएँ ।
त्यसअघि गुणादी लगायत अन्य स्रोतबाट ल्याइएको पानीले मात्र वितरणमा समस्या (अपुग) थियो । दमौली आसपास पानीको मुलबाट चुन ढुङ्गा मिश्रित पानी वितरणमा जोडिने गरेको हो । प्रशोधन संयन्त्र र क्षमता नहुँदा चुन्या पानी वितरण हुने गरेकोमा अब प्रशोधन क्षमतामा वृद्धि भएको अवस्थामा त्यो पनि समस्या रहेको छैन र दमौलीवासीले शुद्ध पानी पाइरहेका छन् ।
मेरो भनाइलाई विभिन्न माध्यमबाट विभिन्न तर्कसहितका व्याख्यासहित प्रेसित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेकोमा म क्षमा प्रार्थी छु ।
विकासको क्रममा सकारात्मक ऊर्जा र सकारात्मक प्रगति हासिल गर्नुपर्ने छ र जनतालाई सेवा पुग्नुपर्ने हुन्छ । जनताको स्वास्थ र जनताको हितविपरीत कुनै काम गर्नु राम्रो हैन र त्यसतर्फ सबैको ध्यान जाओस् ।
गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपुरक हुन् र एक अर्काले धेरै पहिले देखी सहयोग आदान प्रदान गर्दै आएका छन् । मेरो अभिव्यक्तिलाई नै लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन । एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित् सबैमा आग्रहसमेत गर्दछु ।