अर्कैसँग पोइला जान ६ महिने छोरीको हत्या गरी शाैचालयमा फालियो

बच्चाकी आमा गल्याङकी सुनिता र पाल्पा रामपुरका केदार कुमाल पक्राउ

स्याङ्जा । ६ महिने छोरीको हत्या गरेको आरोपमा आमासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गल्याङ नगरपालिका–२ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर -१० कुमालगाउँका २२ वर्षीय केदार कुमाललाई प्रहरीले पक्राउ गरेको जिल्‍ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

लक्ष्मीले आफ्नै छ महिने छोरीलाई हत्या गरी फालेको आरोप छ। लक्ष्मीका श्रीमान मीनबहादुर तीन महिनादेखि भारतमा छन्।

साउन १० गते घरमा कसैलाई खबर नगरी छ महिने छोरीसहित लिएर सम्पर्कबिहीन भएकी थिइन्। उनी सम्पर्कबिहीन भएपछि ससुराले साउन १२ गते प्रहरीलाई खबर गरेका थिए।

पछि लक्ष्मीले केदारसँग भागेर विवाह गरेको भन्ने सूचना प्रहरीले पायो। सोही सूचनाको आधारमा खोजी थालेको थियो।  खोजी गर्दा उनी गत शुक्रबार दिउँसो गल्याङ बजारमा फेला परेकी थिइन्।

‘पहिले लक्ष्मी फेला परिन्। उनीसँग सोधपुछ गरेपछि केदार पनि फेला परे,’ खनालले भने, ‘बच्चा कहाँ राख्यौ त भनेर सोध्दा सुरूमा त जंगलमा फालेको भनिन्। तर त्यहाँ पनि रहेनछ।’

अनुसन्धानको क्रममा उनले साउन १० को मध्यराति शौचालयको खाल्टोमा फालेको खुलेको हो। त्यहाँबाट प्रहरीले शव सडेको अवस्थामा फेला पारेको हो।

प्रहरीले यस घटनामाथि अनुसन्धान गर्न लक्ष्‍मी र केदारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनले सुरूमा हत्या गरेर फाले वा यत्तिकै फालेर पछि मृत्यु भएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको खनालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *