कान्छा नेता पाण्डेको नेतृत्वमा मूल्यवृद्धिको विरोध गर्दै पूर्व-पश्चिम राजमार्ग चक्काजाम



नवलपुर । सरकारद्वारा पेट्रोलियम पदार्थमा गरेको अत्याधिक मूल्यवृद्धिपछि देशका अधिकांश स्थानमा विरोध प्रदर्शन भइरहेको छ । कतिपय स्थानमा विपक्षी दलका भातृ संगठनहरुले विरोध गरेका छन् भने कतिपय ठाउँमा भने सत्तारुढ दलकै भातृ संगठनले पनि विरोध गरेका छन् ।

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पूर्वी नवलपुरको सदरमुकाम कावासोतीमा विरोध प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्ग आधा घण्टा चक्काजाम गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै खाध्यान्न र अन्य क्षेत्रमा पनि चर्को मूल्यवृद्धि भएको भन्दै मूल्य समायोजन गर्न माग गर्दै नेविसंघले आन्दोलन गरेको हो ।

पूर्वी नवलपुरका नेपाल विद्यार्थी संघकै कान्छा नेताका रुपमा परिचित हुमन पाण्डेको नेतृत्वमा आयोजना गरिएको विरोध प्रदर्शनमा जिल्लास्तरीय विभिन्न नेता तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । नेविसंघ लुम्बिनी कलेजका अध्यक्ष र हुप्सेकोट नेविसंघ संयोजकसमेत रहेका पाण्डेले आफूहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेको बताए ।

विरोध कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य आरसी भट्टराईको पनि सहभागीता रहेको थियो । उनले नेविसंघ सत्ता नेतृत्व गर्ने नेपाली कांग्रेसको भ्रातृ संगठन भए पनि जनजीविकाको पक्षमा सधै लडिरहने बताए । सत्तामा बस्दा नेतृत्वले जे गरे पनि टुलुटुलु हेरेर बस्नुभन्दा रचनात्मक सहयोग गर्ने र जनताको पक्षमा नरहेको निर्णयमा विरोधमा उत्रिने उनले बताएका थिए ।

प्रदर्शनकारीहरुले ‘मूल्यवृद्धि खारेज गर, जनतालाई क्षति भो, मूल्यवृद्धि अति भो, हाम्री आमा के भन्छिन्, खाने तेल सस्तो ले भन्छिन्’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।