प्रकाशको जीतमा कूटील कृष्णको ‘चातुर्यता’ !

एमाले अध्यक्ष ओलीका चतुर कार्यकर्ता बौंदीकालीका केपीः जसले दिएनन् आफैंलाई भोट !



कृष्ण प्रसाद पराजुली अर्थात् छोटकरीमा केपी । नवलपुरको बौंदीकाली गाउँपालिका वडा नं. ३ का स्थायीबासिन्दा । लामोसमयदेखि राजनीति गर्दै आएका एमालेका कार्यकर्ता । यसपटकको स्थानीय तह निर्वाचनमा गाउँपालिकाको प्रमुख पदका लागि आकांक्षी, तर पार्टीका बफादार कार्यकर्ता ।

गाउँपालिका प्रमुखका लागि दाबी गर्दैगर्दा सहमतिमा प्रकाश ओझाले टिकट पाए । टिकटको आकांक्षा राखेका पराजुलीले ११ वैशाखमा स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराए । उम्मेदवारी फिर्ता लिने दिनसम्म उनले फिर्ता लिन्छन् भन्ने विपक्षीको विश्वास पराजुलीले तोडे । न उनले फिर्ता लिए न त प्रचार-प्रसार नै गरे ।

आफूले उम्मेदवारी दिए पनि आफूले पाएको निर्वाचन चिन्ह ‘पुतली’को प्रचारमा उनी लागेनन् । लागे त केबल ‘प्रकाश अर्थात् एमाले जिताउ अभियान’मै । उनले न आफ्ना लागि मत मागे, न त औपचारिक रुपमा प्रकाशलाई समर्थन गरेको अभिव्यक्तिनै सार्वजनिक गरे ।

३० वैशाखमा मतदान सम्पन्न भयो, कृष्ण सधैंझैं मतदान केन्द्रमा खटिए । वडा नं. ३ को बेलभञ्ज्याङ मतदान केन्द्रमा उनी बिहान ७ बज्नुअघि नै उपस्थित भएर लागे मतदाताको पक्षमा । निर्वाचन अधिकृतले उपलब्ध गराएको उम्मेदवारको परिचयपत्र पाए, तर उनी लुकाउन खोजिरहेका हुन्थे । तर, अन्यले पाएको अधिकारको सदुपयोग गर्नुस् न दाई भन्दा, मुसुमुसु हाँस्दै बाहिर निकाल्थे, अनि कसैले नदेख्दा फेरि भित्र हाल्थे । आफू उम्मेदवार भएपनि प्रकाशकै पक्षमा लबिङ गरेका पराजुलीलाई किन प्रचार–प्रसार गर्नु भएन ? भनेर प्रश्न गर्दा भने उनी अक्मकाउँथे । उनीसँग प्रश्नको दिने उत्तर थिएन सायद ।

गाउँपालिका प्रमुखको उम्मेदवारी दिएका हरेक उम्मेदवारले हरेक मतदान केन्द्रमा प्रतिनिधि राख्न पाउँथे, त्यो कृष्णले पनि पाए । जुन मतदानका क्रममा मतदानस्थलमा देखापर्ने विभिन्न विवाद समाधानका लागि सहयोगी सिद्ध भयो । मतदानस्थलभित्र देखिएका केही विवाद समाधानका लागि बल पुग्यो । मतदान केन्द्रमा एमालेको उपस्थिति बलियो बन्यो ।

मतदानपछि गरिएको मतगणनामा एमालेका उम्मेदवार प्रकाश ओझाले जित हात पारे । प्रकाशमात्र नभई उपाध्यक्ष र चार वटा वडामा नेकपा एमालेले जित हात पार्न सफल भयो । त्यसमा कृष्णको रातदिनको खटाइ पनि मिसिएको थियो । उम्मेदवारी दिएपछि विरलैमात्र घरमा भेटिने गरेका कृष्ण मतगणनापछि नतिजा घोषणा हुँदै गर्दासम्म पनि व्यस्त नै थिए ।

मतगणना सम्पन्न भईसक्दा पनि कुटील कृष्णले भने एक भोट पनि पाउन सकेनन् । ७ हजार ७६३ मत खसेको बौंदीकालीमा कृष्णले एक भोट पनि पाएनन् अथवा उम्मेदवार आफैं पनि आफूलाई भोट दिएनन् । उनको चुनाव चिन्ह पुतलीमा एक भोट पनि परेन ।

राजनीतिमा चतुर एमाले अध्यक्ष केपी ओलीको कार्यकर्ताको हिसाबले बौंदीकालीका केपी पनि चतुर सावित भए । उनी बौंदीकालीमा एमालेलाई जिताउन सफल भए, त्यसका साथै अहिलेसम्म झन्डा फहराउन असफल एमालेलाई वडा नं. ३ रकुवामा पनि जित दिलाए । अहिलेसम्मको इतिहासमा रकुवामा एमालेले यसरी जित हात पारेको यो पहिलो नै पटक थियो । गाउँपालिका हुनुअघि अर्थात् गाविस हुँदाको तत्कालिन अवस्थामा तत्कालिन वडा नं. १ र २ मा एमालेले जित्ने गरे पनि गाविसमा भने एमाले प्रतिस्पर्धामा सम्म पनि आउन गाह्रो थियो । त्यसपछि २०७४ को स्थानीय तह निर्वाचनमा पनि वडा नं. ३ मा नेपाली कांग्रेसले नै जित हात पारेको थियो । तर, यसपटक भने कृष्णहरूकै कूटील र चातुर्यताले रकुवा ‘खोस्न’ सफल भएका थिए ।

यस निर्वाचनमा बौंदीकाली गाउँपालिका प्रमुखपदमा चार जनाले उम्मेदवारी दिएका थिए । ती मध्ये २ जना राजनीतिक दलबाट थिए भने २ जना स्वतन्त्र रुपमा । स्वतन्त्र रुपमा उम्मेदवार बनेका दुवै जनाले कुनै पनि मत प्राप्त गर्न सकेनन् । स्वतन्त्रमा कृष्णसँगै मधुकर नेपालीले पनि उम्मेदवारी दिएका थिए । तर, मधुकरले पनि कुनै पनि मत पाउन सकेनन् अर्थात् उनले पनि आफैंलाई पनि मत दिएनन् । मधुकरले भने ब्याडमिन्टनको कर्क चुनाव चिन्ह पाएका थिए ।

बौंदीकालीमा अध्यक्ष उपाध्यक्षसहित नेकपा एमालेले चार वटा वडामा जित हात पारेको छ भने नेपाली कांग्रेसले २ वटा वडामा जित हात पारेको छ । यसअघि गत २०७४ को निर्वाचनमा कांग्रेसले अध्यक्ष उपाध्यक्षसहित ३ वडा र एमालेले ३ वटा वडामा जित हात पारेको थियो ।