

रामपुरमा नगरप्रमुख–उपप्रमुखसहित ७ वडामा कांग्रेस विजयी

रामपुर – रामपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका रमणबहादुर थापा १०,४५६ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार शिव अर्याललाई ३७३ मतान्तरले पराजित गरेका हुन् । अर्यालले १०,०८३ मत ल्याएका छन् ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार बालकुमारी थापा १०,३०७ मत ल्याई विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार दुर्गा देवी रानालाई ५८ मतान्तरले पराजित गरेका हुन् । रानाले १०,२५० मत ल्याएकी छन् ।
रामपुरमा थापा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि एमाले उम्मेदवारलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका थापा पूर्वी पाल्पामा लोकप्रिय नेताका रुपमा परिचित छन् ।
रामपुर नगरपालिकाका १० वटा वडामध्ये नेपाली कांग्रेसले ७ वटा वडामा जित हात पारेको छ । नेपाली कांग्रेसले १,२,४,५,६,७ र ९ वडा गरी ७ वटा वडामा प्यानल नै जित हात पारेको छ भने वडा नं. ३, ८ र १० मा एमाले उम्मेदवार विजयी भएका छन् ।