नवलपुरको अर्को कांग्रेस गढ एमालेको पोल्टामा, बुलिङमा २८ वर्षीय इन्जिनियरले हराए सांसद पुत्र !
नवलपुर । नेपाली कांग्रेसको बलियो पकड मानिएको नवलपुरको बुलिङटार गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
बुलिङमा निवर्तमान गाउँपालिका प्रमुख शशिकरण बस्ताकोटीलाई पराजित गर्दै एमालेका उम्मदेवार दीपेन्द्र सुनारीले जित हासिल गरेका हुन् ।
सुनारीले नेपाली कांग्रेसका उम्मेदवार बस्ताकोटीलाई एक सय ५९ मतले पराजित गरेका हुन् ।
अध्यक्ष पदमा सुनारीले ४०५९ मत गरेका छन् भने बस्ताकोटीले ३९०० मत गरे । गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया राना ४२३९ मत प्राप्त गर्दै विजयी भएकी छन् ।
एमालेको तर्फबाट पालिका उपाध्यक्ष पदको उम्मेदवार भूमिका खण्डलुकले ३५१९ मत प्राप्त गरिन् ।
मेकानिकल इन्जिनियरसमेत रहेका युवा नेता सुनारीको जितसँगै बुलिङटारबासीमा उत्साह थपिएको छ ।
नेपाली कांग्रेस नेता शशांक कोइरालाको आधारक्षेत्रका रुपमा रहेको बुलिङटारमा उनकै जोडबलमा बस्ताकोटीलाई पुनः टिकट दिइएको थियो ।
विगत ५ वर्षमा गरेका आफ्नो कामको स्वमूल्यांकन नगरी केन्द्रकै बलमा टिकट दिइनुले कांग्रेस किल्ला भत्किएको छ ।
नेपाली कांग्रेसका सांसद दामोदर बस्ताकोटीका छोरासमेत रहेका शशि गत स्थानीय निर्वाचनमा लोकप्रियमतसहित गाउँपालिका प्रमुखमा विजयी भएका थिए ।
यसअघि कांग्रेसको गढ मानिएको बौंदीकाली गाउँपालिकामा पनि एमालेले अध्यक्ष उपाध्यक्षसहित बहुमत वडामा झन्डा फहराउन सफल भएको छ । बौंदीकालीमा पनि एमालेका युवा नेता प्रकाश ओझाले जित हासिल गरेका छन् ।