

‘शुन्य’ मत पाएका बौंदीकाली प्रमुखका उम्मेदवार !

बौंदीकाली – नवलपुरस्थित बौंदीकाली गाउँपालिकाको स्थानीय तह निर्वाचनमा गाउँपालिका प्रमुखका उम्मेदवारले शुन्य मत पाएका छन् ।
आइतबार सम्पन्न मतगणनामा बौंदीकाली गाउँपालिकामा उम्मेदवारी दिएका कृष्ण पराजुलीले कुनै पनि मत प्राप्त गर्न सकेनन् । ७७६३ मत खसेको पालिकामा उनले कुनै पनि मत पाउन नसकेका हुन् । मतदानका लागि पराजुलीले चुनाव चिन्हका रुपमा पुतली पाएका थिए ।
नेकपा एमालेका कार्यकर्ताका रुपमा परिचित पराजुली पालिका प्रमुखको उम्मेदवारको आकांक्षी भएपनि पार्टीले प्रकाश ओझालाई एकल उम्मेदवारका रुपमा सिफारिस गरेको थियो । त्यसपछि पराजुलीले स्वतन्त्रका रुपमा उम्मेदवारी दिएका थिए ।
उम्मेदवारी फिर्ता लिने अपेक्षा गरिए पनि अन्तिम समयसम्म फिर्ता नलिएका पराजुलीले औपचारिक रुपमा प्रकाशलाई समर्थन गरेको सार्वजनिक अभिव्यक्ति नदिए पनि पुरै समय प्रकाशकै जितका लागि खटेका थिए ।
मतगणनाको अन्तिम नतिजासम्म पुग्दा बौंदीकालीमा अध्यक्ष उपाध्यक्षसहित नेकपा एमालेले चार वटा वडामा जित हात पारेको छ भने नेपाली कांग्रेसले २ वटा वडामा जित हात पारेको छ ।
त्यसबाहेक बौंदीकालीमा अर्का एक स्वतन्त्र उम्मेदवारले पनि शुन्य मत पाएको निर्वाचन आयोगले जनाएको छ । गाउँपालिका प्रमुखका लागि उम्मेदवारी दिएका मधुकर नेपालीले पनि शुन्य मत पाएका छन् ।
उम्मेदवार नै बनेका उनीहरु आफैंले पनि क-कसलाई भोट हाले त्यो भने जनचासोकै विषय छ ।