बुवाको सम्झनामा छोरीहरुले दिए अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर



स्याङ्जा । पारिवारिक सदस्यको निधन भएको ६ महिना पुगेको पुण्यतिथिमा स्याङ्जा चापाकोटका डोटेल परिवारले अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

चापाकोट नगरपालिकास्थित बेल्चौरका कृष्णप्रसाद डोटेको निधन भएको ६ महिना पुगेको पुण्यतिथिमा उनका पारिवारिक सदस्यले चापाकोट अवस्थालाई उक्त कन्सन्ट्रेटर सहयोग गरेका हुन् ।

डोटेल निवास बेल्चौरमा आयोजित कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा मृतककी पत्नी कृष्णमाया डोटेलले चापाकोट अस्पतालका प्रमुख डा. सुमन खनियालाई उक्त कन्सन्ट्रेटर हस्तान्तरण गरकी थिइन् ।

उक्त अवसरमा चापाकोट नगरपालिकाका स्वास्थ्य संयोजक विन्दु कोइराला, मृतकका छोरीहरु भिमा डोटेल पंगेनि, गोमा डोटेल भन्डारी, चन्द्रा डोटेल भन्डारी, मनु डोटेल भट्टराई, रिता डोटेल पान्डेय, सरिता डोटेलका साथै मृतककी आमा टीका डोटेलका साथै रामप्रसाद, रामेश्वर, सरस्वति, हरि र सञ्जय डोटेललगायतका सहभागी थिए ।

उक्त अवसरमा अस्पताल प्रमुख डा. खनियाले डोटेल परिवारको उक्त सहयोगले अस्पतालमा आएका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास लिँदै डोटेल परिवारप्रति अस्पतालकातर्फबाट धन्यवाद समेत दिएका थिए ।