

हुप्सेकोटमा जन्मने छोरीको बैंक खातामा ५ हजार !

नवलपुर । हुप्सेकोट गाउँपालिकाभित्र जन्मिएका छोरीहरुलाई गाउँपालिकाले ५ हजार रुपैयाँ दिने भएको छ ।
पूर्वी नवलपरासी अर्थात् नवलपुर जिल्लाको चार गाउँपालिकामध्येको सबैभन्दा ठूलो गाउँपालिकाका रुपमा चिनिएको हुप्सेकोट गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८/७९को बजेटमार्फत् गाउँपालिकाभित्र छोरी जन्मिए ५ हजार रुपैयाँ बैंक खातामा जम्मा गरिदिने भएको छ ।
गाउँपालिकाको ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत गाउँपालिकाको आठौं गाउँसभाट कुनै पनि परिवारमा छोरी जन्मिए ५ हजार दिने घोषणा गरिएको गाउँपालिका प्रमुख लक्ष्मी पाण्डेले बताइन् ।
पाण्डेले गाउँपालिकाभित्र जन्मिएका छोरीको जन्मदर्ता गरेपछि गाउँपालिकाले छोरीको नाममा बैंक खाता खोली ५ हजार रुपैयाँ जम्मा गरिदिने कार्य सुरु भइसकेको बताइन् ।
चालू आर्थिक वर्षको सुरु अर्थात् साउन १ गतेदेखि नै उक्त कार्यक्रम सञ्चालनमा आएको बताउँदै गाउँपालिका प्रमुख पाण्डेले छोरीको शिक्षा र सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै भविष्यमा अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा लिएको बताइन् ।