शनिबार आएको बाढीले मेलम्चीका थप १८ घर परिवार विस्थापित

सिन्धुपाल्चोक – गएको शनिबार आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का थप १८ घर परिवार विस्थापित भएका छन् । त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले जानकारी दिएका छन् ।

मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा घर ढाल्न थालेपछि घर खाली गरेर स्थानीयवासी वैकल्पिक बासको खोजीमा लागेका छन् । विस्थापित अहिले आफन्तकोमा आश्रय लिइरहेको र तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने सीएसआरसीका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिए ।

जोखिममा रहेका बस्ती तथा घर जोगाउनका लागि खोला नियन्त्रण गर्ने कामलाई मेलम्ची नगरपालिकाले निरन्तरता दिएको छ । यही साउन १६ गते आएको बाढीले घरमा क्षति गर्दै मेलम्ची बजारमा नै खोला पस्ने जोखिम बढेपछि नगरपालिकाले खोला नियन्त्रण गर्न थप जनशक्ति परिचालन गरेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए ।

बाढी प्रभावितका लागि खान, बस्न र स्वास्थ्य उपचारको अभाव हुन नदिने समेत नगरपालिकाले दाबी गर्दै आएको छ । बाढी प्रभावितलाई २५ हजारदेखि १० हजार रुपैयाँ नगद सहयोग गर्ने समेत नगर प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । यस्तै सरकारले बाढी पहिरोका कारण बिजुली बन्द भएको मेलम्चीमा वैकल्पिक उपाए अपनाएर बिजुली पुर्‍याउन पहल थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *