यी नयाँ अनुहारसहित गण्डकी प्रदेशमा मन्त्रीपरिषद्को विस्तारको तयारी, आजै सपथ !

कास्की । मुख्यमन्त्री सम्हालेको करिब ४० दिनपछि गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रीपरिषद् विस्तार गर्न लागेका छन् । जेठ २९ मा मुख्यमन्त्री बनेर एक साताभित्रै विश्वासको मत लिएका नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री नेपालीले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका थिएनन्।

मुख्यमन्त्रीमा नियुक्ति हुनासाथ कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिब गुरूङलाई मन्त्री बनाएका नेपालीले मन्त्रिमण्डल बिस्तारमा सहजीकरण गरिदिन पार्टीका नेताहरुसँग गुहार मागेका थिए ।

गण्डकीमा शुक्रबार दिउँसो मन्त्रिमण्डल बिस्तार गर्ने कार्यक्रम छ। माओवादीबाट थप ३ जना मन्त्री हुँदैछन्।

अर्थ मन्त्रीमा माओवादीले रामजी बराललाई बनाउन पठाउने भएको छ। वन मन्त्रीमा दीपक चर्ती मगर र कृषि मन्त्रीमा चन्द्रबहादुर बुढाले सपथ लिने तयारी छ। यसअघि माओबादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मधुमाया अधिकारी नियुक्त भएकी थिइन्।

संघीयका साथै प्रदेशको समेत सत्ता सम्हालेको कांग्रेसले भने अहिलेसम्म मन्त्री टुंगो लगाउन सकेको छैन। तर कांग्रेसले राख्ने मन्त्रालय भने टुंगिएको छ। कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय आफूसँगै राख्ने भएको छ।

यस्तै शिक्षा, प्रविधि तथा सामाजिक विकास, पर्यटन तथा कानुन मन्त्रालय पनि कांग्रेससँग हुनेछ। यसअघि कांग्रेसबाट कुमार खड्का सामाजिक विकास मन्त्री भइसकेका छन्।

उनकाअनुसार आज दिउँसो १ बजेसम्म मन्त्रिमण्डल बिस्तार गरी आजै मन्त्रीहरूको सपथ गर्ने सम्भावना छ। गण्डकीमा नेकपा एमालेबाहेक अरू दलको गठबन्धनबाट सरकार बनेको छ। मुख्यमन्त्री नेपालीलाई विश्वासको मत दिएको राष्ट्रिय जनमोर्चा भने सरकारमा गएको छैन।

प्रदेश सरकारको प्रवक्ताका रुपमा सामाजिक विकास मन्त्रालय सम्हालेका कुमार खड्कालाई तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *