

मंगलबार बिहानै अकला मन्दिरबाट चोरी भयो गणेशको मूर्ति

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–६ मा रहेको अकला देवी मन्दिरमा चोरी भएको छ । गए राति अज्ञात समूहले मन्दिरको मूलढोकामा लगाइएको ताल्चा फोडेर मूर्तिलगायतका सामान चोरी गरेको हो ।
प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित अकला देवी मन्दिरमा रहेको गणेशको मूर्ति, शङ्ख र घण्टी चोरी भएको तथा मन्दिरको गजुर भने सुरक्षित रहेको मन्दिर विकास तथा व्यवस्थापन समितिले जनाएको छ । आज बिहान पुजारी मन्दिरमा दैनिक नित्य पूजाका लागि जाँदा मात्रै मन्दिरमा मूर्ति चोरी भएको थाहा भएको मन्दिर व्यवस्थापन समितिका सचिव वसन्त थापाले जानकारी दिए ।
घटनापश्चात प्रहरी टोली गएर घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए । लाखौँ भक्तजनले पुज्ने मन्दिरमा भएको यो किसिमको घटना हुनु अत्यन्त निन्दनीय र हिन्दू धर्ममाथिको प्रहार भएको उनले बताए ।
उक्त कार्यमा संलग्न कोही शङ्कास्पद व्यक्ति वा समूह भेटिए तुरुन्त प्रहरीलाई खबर गरिदिन उनले सबैमा आग्रहसमेत गरेका छन् । यस विषयमा वडाध्यक्ष बसन थापासँग बुझ्दा आफू काठमाडौँ रहेकाले केही जानकारी नपाएको बताए ।
पृथ्वीराजमार्गसँगै जोडिएको प्रसिद्ध मन्दिरको मूर्ति चोरी भएकोमा स्थानीयहरुले यस क्षेत्रमा पनि असुरक्षा बढेको हो कि भन्ने देखिएको बताएका छन् ।