डेढगाउँ जोड्ने कालीगण्डकी पुलको मर्मत कार्य सुरु, छिटै यातायात सञ्चालन हुने स्थानीयको अपेक्षा



नवलपुर । एक महिनाभन्दा धेरै समयबाट सडक सञ्जालबाट सम्पर्कबिहीन बनेको बौंदीकाली गाउँपालिकामा यातायात सञ्चालनका लागि काम सुरु भएको छ । गत असार २ गते आएको बाढीका कारण तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौंदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकीको तनहुँतर्फको भाग नदीले बगाउँदा बौंदीकाली गाउँपालिका पूर्णरुपमा सडक सम्पर्कबाट विच्छेद भएको थियो ।

नदीमा पानीको बहाब केही मात्रामा घट्दै जान थालेपछि भत्किएको उक्त खण्ड बनाएर यातायात सञ्चालनका लागि काम सुरु भएको हो । बौंदीकाली गाउँपालिका कर्मचारी र जनप्रतिनिधिले तत्कालै पहल गरे पनि ठूलो क्षति भएकाले मर्मत तथा निर्माणका लागि असहजता उत्पन्न भएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतको टोलीले तत्कालै निर्माण तथा मर्मतका लागि सम्बन्धित निकायमा जानकारी गराए पनि काम भने हुन सकेको थिए । तर, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको पहलबाट मर्मत तथा निर्माण कार्य सुरु गरिएको छ ।

त्यतिबेलाको बाढीका कारण बौंदीकालीबाट तराई जोड्ने सडकको निरन्दीखोला पुल, बौंदीखोलाको शेरास्थित निर्माणाधीन पुललगायतका पक्की संरचना बाढीले बगाएको थियो । त्यस्तै गाउँपालिकाभित्रको सडक सञ्जाल पनि तहसनहस बनेको अवस्थामा गाउँपालिका र स्थानीयको पहलमा मर्मतकार्य सुरु भएको जनाइएको छ ।

लगातार एकमहिनाभन्दा बढीदेखि सडक सम्पर्कबाट विच्छेद रहेका स्थानीयले सो पुलमा आवतजावत बन्द भएपछि पाल्पाको गण्डकीढीकको पुल तरेर करिब ३ घन्टाको बढी यात्रापछि भिमाद तथा पोखरा आवतजावत गर्नु परेको थियो ।

नदीले बगाएको पुलको उक्त भागको निर्माण सुरु गरिएपछि छिटै यातायात सञ्चालन हुने अपेक्षा स्थानीयले गरेका छन् । तर, लगातार वर्षा भइरहेकोले नदी बढ्ने सम्भावना रहेकाले निर्माण कार्य रोकिने हो कि भन्ने चिन्तामा समेत स्थानीय छन् ।

सो बाढीबाट पुलको डेढगाउँतर्फको भाग पनि भासिएको थियो । तर, गाउँपालिकाले सो भागमा तत्काल मर्मत गरी यातायात सञ्चालन योग्य बनाए पनि तनहुँतर्फको भाग मर्मत गर्न नसकिएकोले लामो समयसम्म यातायात सञ्चालन हुन सकेको छैन ।

तस्बिरहरूः उज्ज्वल ओझाको फेसबुकबाट