

कावासोती बजार डुबानमा, ह्युमपाइप बगाउँदा पूर्वपश्चिम सडकखण्ड अवरुद्ध (तस्वीरहरूसहित)

नवलपुर । लगातार वर्षाका कारण पूर्वी नवलपुरको सदरमुकाम कावासोती बजार डुबानमा परेको छ । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण कावासोती बजारको पूर्वपश्चिम राजमार्ग क्षेत्र लगायत कावासोतीका भित्रि बजारहरु डुवानमा परेका हुन् ।
लगातारको वर्षाका कारण केरेंगे खोलामा आएको बाढीका कारण कावासोती, डन्डा लगायतका क्षेत्र डुबानमा परेको जनाइएको छ ।
यसैबीच कावासोती थानाचोकमा सडकको ह्युमपाइप बनाउँदा नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
लगातार परेको पानीका कारण सडकको ह्युमपाइप बगाएर आज बिहानदेखि अवरुद्ध भएको सडक सञ्चालनको तयारी भइरहेको गिरीको भनाइ छ । शुरुमा साना सवारी साधन सञ्चालन हुनेगरी डाइभर्सन निर्माण गरिने भन्दै प्रनाउ गिरीले ठूला सवारी साधन केहीबेर रोकेर राखिने बताए । सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधनको लामो लाइन लागेको उनले बताए ।
तस्बिरहरूः बालकृष्ण घिमिरेको फेसबुकबाट