

म्याग्दीमा बाढीले घर बगाउँदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
मङ्गला गाउँपालिका–५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गरेर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका मालिका–६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका—६ का वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए ।
बजिनको शव भेटिएको र बिना बेपत्ता भएको वडाध्यक्ष सुवेदीले बताए । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको व्यवस्थापनमा परिचालन भएका छन् ।
खहरेखोलाको बाढी पसेर मङ्गला गाउँपालिकातर्फ पनि एउटा घरमा क्षति पुगेको छ । रातोढुङ्गाको बस्ती, निर्माणाधीन ३२/११ केभी क्षमताको सबस्टेशन र सयौँ रोपनी खेतीयोग्य जमीन जोखिममा परेको छ ।
इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको विवरण सङ्कलन, बेपत्ताको खोजी र जोखिममा परेका घरधुरी व्यवस्थापनमा जुटेको बताए ।