कोरोना कहरबीच दुईसातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोल प्रतिलिटर १२९ र ग्यास सिलिण्डरको १४२५ पुग्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
आयल निगमले मंगलबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यासमा मूल्य बढाएको हो । यसअघि २ साता अघि पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
आयल निगमले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा दुई–दुई रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको जनाएको छ ।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय २९, डिजेल र मट्टीतेल समान एक सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको छ ।