पहाडको ‘नमुना चक्रपथ’ बनाउँदै बौंदीकाली गाउँपालिका



नवलपुर — नवलपुरको पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाउँपालिकाले चक्रपथ निर्माण अगाडि बढाएको छ । गाउँपालिकाका सबै ६ वटा वडालाई छुने गरी चक्रपथ बनाउन लागिएको हो । नवलपुरको सबैभन्दा विकट गाउँपालिकाको रुपमा रहेको यस गाउँपालिकामा पछिल्लो दिनहरुमा विकास निर्माणका कामहरु धमाधम हुन थालेका छन् ।

कुनै पनि क्षेत्रको विकासमा विकासप्रेमी जनप्रतिनिधि र असल कर्मचारीको संयोजन भएको खण्डमा सहजै विकास सम्भव हुन्छ भन्ने कुराको उदाहरण बन्ने क्रममा रहेको बौंदीकालीले नमुनायोग्य चक्रपथ बनाउने भएको छ ।

तराईका कतिपय स्थानीय तहले पनि आफ्नो क्षेत्रलाई एउटै सडकबाट समेट्न नसकिरहेको यस परिवेशमा बौंदीकालीले चक्रपथबाट आप्mना सबै क्षेत्र समेट्ने भएको छ ।

यो गाउँपालिका केन्द्र पूर्वपश्चिम राजमार्गबाट करीब ४५ किलोमिटर उत्तर पर्छ । कालीगण्डकी नदी किनारमा पर्ने यो गाउँपालिका पाल्पा र तनहुँसँग सिमाना जोडिएको छ । त्यस्तै पृथ्वीराजमार्गको खैरेनीटारबाट ३१ किलोमिटर दक्षिणमा पर्दछ । गण्डकी प्रदेशको राजधानी पोखरालाई प्रदेशभित्रैबाट भारतसँग जोड्ने सडक पनि यही गाउँपालिका क्षेत्रबाट पर्ने हुनाले भविष्यमा पहाडको विकसित गाउँपालिका बन्ने निश्चित रहेको छ । सोही क्रममा आगामी फागुनसम्ममा कालोपत्रे गर्ने गरी मानपुर डेढगाउँ सडकखण्डको काम द्रुतगतिमा भईरहेको छ ।

पहाडी क्षेत्रमा सडक पूर्वाधारविना अन्य विकासको सम्भावना नहुने भएपछि महत्वाकाङ्क्षी योजनाका रुपमा चक्रपथ बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले बताए । सबै वडालाई चक्रपथमा समेटी गाउँपालिकाको कार्यालयसम्म सबैको सहज पहुँचका लागि यो योजना अगाडि बढाइएको जनाइएको छ ।

चक्रपथ निर्माणपछि सबै वडाको सहज पहुँच गाउँपालिकाको केन्द्र डेढगाउँसँग हुने र यसले गाउँपालिकाबाट प्राप्त गर्ने सेवा लिन स्थानीयवासीलाई सहज हुने पनि रानाले बताए ।

निर्माणाधीन चक्रपथले माइतीघाट, चारघरे, बबक, नरम, रुचाङ, सिउन हुँदै डेढगाउँलाई जोड्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । करीब ५२ किलोमिटर लम्बाइको  चक्रपथ निर्माणका लागि साधारण मार्ग खोल्ने काम सकिएको तथा अहिले घुम्ती सुधार र स्तरोन्नतिको काम चलिरहेको उनले बताए । प्रदेश र संघको समन्वयमा चालु आर्थिक वर्षमा रु ८० लाख बराबरको काम हुँदै गरेको जनाइएको छ ।

यसबाट विभिन्न वडामा उत्पादन हुने कृषिजन्य उपजलाई बजारीकरणमा समेत सहयोग पुग्ने छ । ‘चक्रपथ निर्माणले केन्द्रका रुपमा रहेको डेढगाउँलाई सहज रुपमा जोड्ने काम त गर्छ नै’, सुवेदीले भने, ‘हरेक वडामा उत्पादन हुने कृषिजन्य उपलाई बजारीकरणमा समेत सहयोग पुग्ने विश्वास लिएका छौँ ।’

चक्रपथको स्तरोन्नति गर्दै क्रमशः केही क्षेत्रमा कालोपत्रे गर्ने योजनासमेत रहेको सुवेदीले बताए । प्रदेश, सङ्घसंँगको समन्वयमा गाउँपालिकाले सडकको अवस्था सुधार गर्दै निकट भविष्यमा कालोपत्रे गर्ने जनाइएको छ ।

यस गाउँपालिकामा हालसम्म केन्द्रीय प्रशारण लाइनको विद्युतीकरणका लागि पनि काम भईरहेको बताउँदै सुवेदीले यथाशीघ्र गाउँपालिका उज्यालो हुने बताए । सुवेदीले ‘सुगम जिल्लाको दुर्गम स्थान’को नामले परिचित यस गाउँपालिकालाई आफूले नमूना गाउँपालिकाको बनाउने प्रण गर्दै जागिरे जीवनमा सम्झनायोग्य कार्यक्षेत्र बनाउन लागि परेको उल्लेख गरे ।