

खानेपानी मन्त्री थापालाई कोरोना पुष्टी

काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार मन्त्री थापा ३ दिनदेखि कोरोना भाइरसको लक्षण देखिएकाले विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखिएको थापाको सचिवालय स्रोतले जानकारी दिए । थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।
खाना खान मन नलाग्ने, टाउको दुख्ने समस्याका कारण मन्त्री थापा निवासमै आराम गरिरहेका थिए । थोरै विसञ्चो महसुस भएपछि संक्रमणको आशंकामा उनले कोभिड-१९ परिक्षणका लागि स्वाब दिएका थिए।
चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।