

प्रधानमन्त्रीले उद्घाटन गरे कमल खोलाको पुल

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गरेका छन् । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ ।
सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौँले १६ करोड ६२ लाख ६४ हजार ९७५ मा लिएको थियो । विसं २०७२ माघ ६ गते ठेक्का सम्झौता भएको सो पुल हालै निर्माण सम्पन्न भएको हो ।
झापाका चार पुलको उद्घाटनपछि प्रधानमन्त्री ओलीले चीन नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले बताए । प्रधानमन्त्री ओलीले आजै मदन भण्डारी लोकमार्गका निर्माण हुने ३१ पुलको एकैचोटि शिलान्यास गर्ने कार्यक्रम छ ।