

मोरङ ३ (क) मा आज पुनः मनोनयन

मोरङ । निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (१) मा मनोनयन दर्ता गर्नका लागि बिहीबार समय तय गरेको छ। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (१) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधवार आयोगले उक्त दलका लागि उम्मेदवार बिहीबार मनोनयन दर्तासहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।
आयोगका उपसचिव ऋषिराम भुसालले नयाँ निर्वाचन कार्यतालिका अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी बिरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने बताए । उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान भइसकेको अवस्था रहेकोमा उक्त क्षेत्रबाट प्रदेश सभाका लागि उम्मेदवार थापाको मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारले मात्रै मनोनयन दर्ता गर्न पाउने बताए ।
उनले भने, ‘मोरङ जिल्ला प्रदेश सभा ३ अन्तर्गतको प्रदेश सभा क्षेत्र न १ का उम्मेद्वारको मुत्यु भएको छ । सोको लागि निर्वाचन आयोगले बिहीवार र शुक्रवार निर्वाचन कार्यतालिका स्वीकृत गरेर सम्बन्धित निर्वाचन अधिकृतलाई पठाएको अवस्था छ । नेपाली काँग्रेसबाट उम्मेदवारको मृत्यु भएको कारणले काँग्रेसबाट बिहीबार उम्मेदवार मनोनयन दर्ता हुन्छ । बिहीबार बिहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेदवार मनोनयन दर्ता गर्नुहुन्छ । कात्तिक २५ गते ४ बजे निर्वाचन चिन्ह दिएपछि प्रक्रिया सकिन्छ ।’
उपसचिव भुसालले बिहीबार विहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेद्वार मनोनय दर्ता गर्नुपर्ने बताए । उनले कात्तिक २५ गते ४ बजे मनोनयन दर्ता भएका उम्मेदवारलाई निर्वाचन चिन्ह दिएपछि प्रक्रिया सकिएर मंसिर ४ गते नै निर्वाचन हुनेपनि स्पष्ट पारे ।