

नियुक्ति बदरको एक सातामै पुनः मुख्यमन्त्री बने उद्धव थापा

विराटनगर – नेपाली कांग्रेस संसदीय दल कोशीका नेता उद्धव थापा मुख्यमन्त्री पुनः नियुक्त भएका छन् । असार २१ गते प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर बहुमत दाबी गरेका थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेको थियो ।
सभामुखको हस्ताक्षरलाई असंवैधानिक मानेपछि गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत संख्या पुर्याएको छ । कोशीमा बहुमत पुर्याउन ४७ सीट चाहिन्छ । माओवादीबाट गौतम सभामुख पदमा रहुन्जेल सत्तागठबन्धनको बहुमत पुग्न नसक्ने भएपछि उनलाई राजीनामा गराइएको हो ।
कोशी प्रदेशमा गठबन्धनमा रहेका दलहरू कांग्रेसका २९, माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सदस्य रहेका छन् ।
सत्ता गठबन्धन दलको तर्फका ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर पुगेपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(२) अन्तरगत मुख्यमन्त्रीमा प्रदेश प्रमुखले नियुक्त गरे ।