

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त, एमालेका ३९ सांसदको साथ

विराटनगर – कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका सदस्यीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेस गरेका थिए । कांंग्रेस प्रदेशसभा सदस्य कार्कीले कांग्रेसका ८ प्रदेशसभा सदस्य र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका थिए भने आङ्बोले कांग्रेससहित चार दलका संसदीय दल नेताको समर्थन लिएका थिए ।
दुवैले ४७ प्रदेशसभा सदस्यको समर्थन भएको दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले हस्ताक्षर सनाखत गर्ने निर्णय गरे । प्रदेश प्रमुखको कार्यालयले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षर सनाखत गर्न भनेको थियो ।
कार्कीको पक्षमा हस्ताक्षर गरेका ४७ जनाले नै उपस्थित भएर सनाखत गरे । लगतै प्रदेश प्रमुख पापुङले संविधानको धारा १६८(५) अनुसार प्रदेश सांसद कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरे ।
सनाखतपछि प्रदेश प्रमुखले भने, ‘माननीय केदार कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर सनाखत भएको छ । अहिले घोषणा गर्दछु कि माननीय केदार कार्कीको पक्षमा ४७ सदस्यको हस्ताक्षर भएकाले उहाँलाई मुख्यमन्त्री भएको घोषणा गर्दछु ।’