

प्रहरीको हतियार खोस्न खोज्ने सांगेसहित आठ जना पक्राउ

सिन्धुली । मरिण गाउँपालिका–७ ठाटी कमलेश्वर महादेब मन्दिरमा पूर्णिमाको अवसरमा परम्परागत बत्ती बाल्ने मेलामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही गाउँपालिका–७ बस्ने २९ वर्षीय सांगे लो लगायत छन् । उनीहरुलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका उनीहरूले ड्युटीमा खटिएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्दै गालीगलोज गर्ने, प्रहरीको हतियार खोस्ने प्रयासलगायतका अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।