गलत डिजाइनमा निर्माण सम्झौता गरियोः महालेखा परिक्षक
लहान । सिराहा जिल्लाको लहान नगरपालिकास्थित वडा नं. १० बाट सुरु भएको खुट्टीखोला सिंचाई आयोजनाका बारेमा हहालेखा परिक्षक (मलेप)ले त्रुटी देखाएको छ । यस अघिको स्थानीय तह नेतृत्वले विस्तृत अध्ययन नै नगरी हेडवक्र्सको डिजाइनको सुधार नगरी निर्माण गरिएको भन्दै मलेपले उक्त हेडवक्र्सबाट पानी वितरण नहुने निष्कर्ष निकाल्दै त्रुटीपूर्ण तरिकाले सम्झौता गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
मलेपको वार्षिक प्रतिवेदनको पृष्ठ ३६ मा ‘जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सिराहा अन्तर्गत खुट्टीखोला सिंचाई योजना, लहानमा हेडवक्र्स तथा क्यानल निर्माण कार्यका लागि एक निर्माण व्यवसायीसँग २०७९÷०७÷१६ मा निर्माण सम्पन्न गर्ने गरि २०७७६÷०८÷१७ मा ८ करोड ५६ लाख ७२ हजारको सम्झौता भएको छ । उक्त निर्माण अन्तिम विलसम्म मूल्य अभिवृद्धि करसमेत ८ करोड ६९ लाख ५४ हजार भुक्तानी भएको छ । योजनाको स्थलगत निरिक्षण गर्दा खोलामा पानी बग्ने सतहभन्दा हेडवक्र्स उच्च स्थानमा निर्माण भएको छ । यसबाट डिजाइन सुधार तथा थप निर्माण कार्य नगरी हेडवक्र्समा पानी जम्मा गरी वितरण हुन सक्ने देखिएन । खोलामा बग्ने पानीको सतहभन्दा हेडवक्र्स उच्च स्थानमा हुने गरी डिजाइन तथा खरिद सम्झौता गरेको देखिएकोमा सञ्चालन सुनिश्चितता यकिन गर्नुपर्दछ’ भनिएको छ ।
यसअनुसार यसअघिको स्थानीय तह नेतृत्वले निर्माणका लागि निर्माण कम्पनीसँग गलत नियतले निर्माण सम्झौता गरेको स्पष्ट देखिएको लहानका एक स्थानीय बुद्धिजीवी बताउँछन् । उनी भन्छन्, ‘सम्झौता गर्ने बेलामा र निर्माणको समयमा अघिल्लो नगरपालिकाले स्वार्थपूर्ण तरिकाले अनुगमन नगरेपछि अहिले यो अवस्था सिर्जना भएको छ, अहिलेको नेतृत्वका विरोधीहरुले यस योजनाका बारेमा विरोध किन गरिरहेका छन् त्यो बुझ्न सकिएको छैन, यसमा अहिलेको मेयरको कुनै दोष नै देखिँदैन ।’
उनले यस निर्माणमा निर्माण कम्पनी र जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सिराहा नै दोषी देखिएको जनाए । उनीहरुको गल्ती अहिले केही विरोधीहरुले नगरपालिकामाथि थोपरेर अनावश्यक आन्दोलन गरिरहेको पनि उनले जनाए ।
आन्दोलनपक्ष स्थानीयहरुसँग वर्तमान मेयर महेश चौधरीले पटक–पटक वार्ताबाट समस्या समाधानका लागि पहल गरिरहेका छन् । अघिल्लो नेतृत्वले गरेको गल्तीको अपजस भोगिरहेको अवस्थामा मेयर चौधरीले अब सो समस्या समाधानमा जोड दिएका छन् ।