जनताको दुःख बुझ्न जनताकै घरदैलोमा मेयर चौधरी



लहान – लहान नगरपालिकाका मेयर महेश चौधरी मुख्य चाडपर्व समाप्त भएसँगै जनताको घरदैलोमा पुगेका छन् ।

मुलुककै ठूलो नगरपालिकाको रुपमा रहेको लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाका २४ वटै वडामा घरदैलो अभियान नै चलाएका छन् । नगरबासीको लागि २४ सै घन्टा खटिँदै आएका मेयर चौधरीले पछिल्लो पटक नगरपालिकाको २४ नम्बर वडाको डाँडाटोलमा खानेपानी, विद्युत, सडकलाई स्तरोन्नति, सिँचाइको लागि बोरिङ, गतवर्षदेखि नगरपालिकाले सुरु गरेको नदी नियन्त्रणमा थप काम लगायत विषयमा स्थानीयवासीसँग छलफल गरेका छन् ।

उक्त अवसरमा मेयर चौधरीले स्थानीयले उठाएको सिँचाइका लागि बोरिङ, खानेपानी योजनामा थप व्यवस्थित, नदी नियन्त्रण र सडकका काम यसैवर्ष हुने जनाएका छन् । उक्त अवसरमा मेयर चौधरीका साथमा वडाध्यक्ष रासलाल राय, वडा सदस्य तथा स्थानीय अगुवाहरुको समेत उपस्थिति थियो ।

त्यसअघि मेयर चौधरीले नगरकै १५ नम्बर वडाको विकास लगायत विषयमा स्थानीयवासीसँग छलफल गरेका थिए ।

यसैगरी मेयरले अबका दिनमा नगरपालिकाभित्रका सबै वडामा पुगेर स्थानीयबासीहरुसँग छलफल गरेर यस वर्षको बजेट कार्यान्वयन र विकासका लागि आगामी वर्षको योजनाबारे प्रारम्भिक आवश्यकता एवं अध्ययन गरेका छन् ।

मेयर चौधरीले लहान नगरपालिकालाई मुलुककै नमूना नगरको रुपमा विकास गर्नका लागि विभिन्न लोकप्रिय एवं जनमैत्री कार्यक्रमहरु ल्याउँदै आएका छन् । उनले यस वर्षपछि गत वर्षजस्तै न्यानो कार्यक्रम ल्याउने जनाएका छन् ।

मेयर चौधरीकै पहलमा भर्खरै सम्पन्न महान् चाड छठ पर्वका अवसरमा लहानका कुनै पनि नदि किनारमा घाटका लागि कुनै पनि शुल्क निर्धारण गरिएको थिएन ।

गरिबीका कारण न्यूनतम आधारभूत सुविधाबाट समेत बञ्चित रहेका कतिपय नगरबासीलाई मेयर चौधरीले सहयोग गर्दै आएका छन् ।