

अपराध अनुसन्धानकै असई लुटेरा !
असई पुनसहित जवान बुढा लुटपाटको अभियोगमा पक्राउ

काठमाडौं । उपत्यकाको अपराध अनुसन्धानमा खटिने प्रहरी नै लुटपाटमा संलग्न रहेको भेटिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) अनबहादुर पुन र प्रहरी जवान धीर बुढा राजधानीको एक रेष्टुरेन्टमा लुटपाटको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका हुन् ।
असई पुन र जवान बुढाले कलंकीस्थित एक रेष्टुरेन्टमा लेदरको पैसा लुटपाट गरेको अनुसन्धानमा खुलेपछि कार्यालयले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको जनाइएको छ ।
कार्यालयको कीर्तिपुर प्रहरी वृत्तमा कार्यरत उनीहरूले बिचौलियासँग मिलेर लेदरको पैसा लुटपाट गरेको खुलेको हो । उनीहरुले पुरानो लेदरको पैसासहित रेस्टुरेन्टमा पुगेका एक युवकलाई हत्कडी लगाउने जिम्मेवारी बिचौलियालाई नै दिएको समेत खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको समेत जनाइएको छ ।