

युएईको अलकुजमा स्व. दिपक डाँगी स्मृति कप भलिबल प्रतियोगिता हुँदै
नोभेम्बर १० मा हुने प्रतियोगिताका विजेतालाई २ लाख बढी पुरस्कार

काठमाडौं । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुख्य नारासहित युएईमा भलिबल प्रतियोगिता आयोजना हुँदैछ ।
स्वर्गीय दिपक डाँगीको स्मृतिमा युएईको अलकुज बलदिया खेल मैदानमा यही नोभेम्बर १० तारिखमा खेल हुने प्रतियोगिताका संयोजक आशिष कुँवरले जनाए ।
स्वर्गीय डाँगीको स्मृतिमा आयोजना गरिन लागिएको प्रतियोगितामा संकलित रकमबाट बचत भएको रकम डाँगीको परिवारलाई हस्तान्तरण गरिने पनि संयोजक कुँवरले जनाए । उनले स्व. डाँगीका दुई जना नाबालक सन्तानको शिक्षा दीक्षामा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिन लागेको जनाए ।
प्रतियोगिताका विजेता टिमले नगद ३३३३ दिराम र द्वितीय हुने टिमले २२२२ दिराम पुरस्कार र मेडलका साथै प्रमाणपत्र पाउने संयोजक कुँवरले बताए । त्यसका साथै विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने पनि उनले जनाए । साथै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमलाई पनि सान्त्वनास्वरूप पुरस्कार प्रदान गरिने समेत जनाए ।
यही नोभेम्बर १० तारिखको बिहान ८ बजेदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुनका लागि ३९० दिराम शुल्क लाग्ने प्रतियोगिताका उपसंयोजक श्याम रानाभाटले जनाए ।
लोकेश ठकुरी रेफ्री संयोजक रहने प्रतियोगितामा युएईमा रहेर व्यावसाय, पेशा र काम गरिरहेका आम नेपालीहरु सहभागी हुने अपेक्षा आयोजकले लिएको छ ।
प्रदेशी हातेमालो सहकारी संस्था युईएको विशेष सहयोगमा हुन लागेको प्रतियोगितामा तमु प्ये ल्हु संघ, दरबार ज्वेलरी एण्ड दरबार ट्राभल्स, याक एण्ड यति रेष्टुरेन्टका सञ्चालक राजु तिमल्सिना, रमन आले मगरले प्रायोजन गरेका छन् ।