

सरकार सफल बनाउन २ पार्टीको संयन्त्र, को-को छन् सदस्य ?

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय संयन्त्र बनाएका छन् ।
संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् ।
त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् ।
दुई दलका तर्फबाट चार–चारजना सदस्य रहने गरी गत सोमबार गठन गरिएको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् ।
एमाले-कांग्रेसले सरकारलाई सफल बनाउन केन्द्रमा मात्रै नभएर प्रदेश र जिल्ला तहमासमेत संयन्त्र बनाउने बताएका छन् ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रभावकारी रुपमा सरकार सञ्चालन गर्न र सफल बनाउनका लागि संयन्त्र बनाएका हुन् ।
ओली नेतृत्वको वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेकोमा आलोचना बढ्दै गएपछि संयन्त्र बनाइएको बताइएको हो ।