आज छठ, देशैभर सार्वजनिक बिदा

काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ। मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा र निष्ठाका साथ यो पर्व मनाउन लागेका हुन्।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवको आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथनबमोजिम सोही समयदेखि छठपर्व मनाउने परम्पराको थालनी भएको हो।

​सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको बताइन्छ। मुख्य दिन शुक्ल षष्ठी भए पनि छठचतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ।

व्रतविधि

​कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई प्रसादस्वरूप खाने परम्परा छ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने विधि विधान छ। षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ्य दिएमा चर्म (छाला) रोग लाग्दैन भन्ने विश्वास छ।

काठमाडौंमा छठ

विशेषगरी मिथिलाञ्चलको महान् पर्व छठ अहिले तराई मधेशभर मात्र नभई काठमाडौं उपत्यकामा समेत धुमधामसहित मनाइन्छ। छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरी, बागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ। छठका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *